सिन्धुली– पछिल्लो समय नेकपा (माओवादी केन्द्र) सिन्धुली भित्रको अन्तरकलह उत्कर्षमा पुग्दै गएको छ । पार्टी भित्र लेखनाथ दाहाल उर्फ राजन दाहाल समुह र महेश्वर र हरिबोल समुहको अन्तरकलह सडकमै छताछुल्ल बन्दै गएको हो ।
नेकपा (माओवादी केन्द्र)ले ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ सञ्चालन गरेको चार महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा स्थानीय स्तरका कमिटीहरुले लिखित रुपमै राजन दाहालको अराजक प्रवृतिलाई इंगित गर्दै पार्टीलाई विधी पद्धतिमा सञ्चालन गर्नुपर्ने माग गरेको माओवादी श्रोतले बताएको छ । समिक्षा बैठकमा तल्ला कमिटीहरुले राजन दाहालको नाम उल्लेख नगरेपनि पार्टी अराजक बन्दै गईरहेको तथा विधी र पद्धति बाहिर गएर आफ्नो स्वार्थ अनुकुल पार्टीलाई दुरुपयोग गरेको, पार्टीको नाममा श्रोत साधन कब्जा गर्दै ब्यक्ति पुजामा प्रयोग गर्दै लगेको उल्लेख गरेको श्रोतले बताएको छ ।
तल्ला कमिटीहरुमा विस्तारै आफ्नो प्रभाव अन्त्य हुँदै गईरहेको र आफु घेराबन्दीमा परेको महसुस गर्दै आफ्ना पक्षका नेता, कार्यकर्ताहरुलाई हरिबोल र महेश्वर दाहालका बिरुद्ध अभिब्यक्ति दिन तथा उस्तै परे भिडन्तमै उत्रन समेत तयारी गरिरहेको माओवादी भित्रकै कार्यकर्ताहरु बताउँछन ।
अभियानकालागि दाहालको कार्यक्षेत्र काठमाडौँ तारकेश्वर नगरपालिका रहेको भएपनि सधै जसो उनी जिल्लामा नै रहेर आफ्नो अस्तीत्व रक्षाको लागी क्रियाशिल देखिन्छन् । अभियानको नेतृत्व गर्न सिन्धुली इन्चार्जको जिम्मेवारी लिएर आएका पुराना निष्ठावान नेता महेश्वर दाहालले सार्वजनिक रुपमै सिन्धुलीमा माओवादी आन्दोलन पुरै विघटनको अवस्थामा रहेको उल्लेख गर्दै आउनुभएको छ । दाहालले सार्वजनिक रुपमै संचारमाध्यमहरुमा आफ्नो विचार राख्दै नयाँ ढंगले पार्टी पुनर्गठनको जरुरी रहेको बताउँदै आउनुभएको छ । उहाँले सिन्धुलीमा राजन दाहालले पार्टीका इमान्दार कार्यकर्ताहरुलाई लखेट्ने तथा जिम्मेवारबिहिन बनाएर राखेको र पार्टीलाई बिघटन गरेको भन्दै अध्यक्ष प्रचण्डलाई रिर्पोटिङ्ग गरेपछि राजन दाहाल पक्षका नेता कार्यकर्ताहरुले महेश्वर दाहाल बिरुद्ध सामाजिक सञ्जालमा विभिन्न अभिब्यक्तिहरु दिएका थिए ।
दाहाल पक्षले जिल्ला इन्चार्ज महेश्वर दाहाललाई सार्वजनिक रुपमै कालोमोसो दल्ने चेतावनी समेत दिएका थिए । नेताहरुबीचको अन्तरविरोधका कारण माओवादी पार्टी भित्रका इमान्दार कार्यकर्ताहरु भने निराश बन्दै गईरहेका छन । माओवादी पार्टीका एक जिल्ला सदस्यले भने, ‘पार्टी यहि तरिका हो भने सकिन्छ, एउँटै पार्टी भित्र नेताहरु बीच बोलचाल नहुने, एक अर्कालाई सार्वजनिक रुपमै गालि गर्ने परम्पराले पार्टी बन्दैन ।’ नेताहरु बीचको सम्बन्ध र अवस्था हेर्दा कार्यकर्ताहरु निराश बन्दै गईरहेको उहाँले बताउनुभयो । वडा स्तरमा सम्मेलनहरु चलिरहेको भएपनि अहिले वडाको नेतृत्व कुन पक्षले हत्याउने भन्ने होडबाजी चलिरहेको छ । माओवादी आन्दोलनबाट आएका पुराना नेताहरु नेता राजन दाहालको बिरुद्ध खुलेरै लागेको देखिन्छ भने नयाँ माओवादीहरु राजन दाहाललाई संरक्षण गर्न लागीरहेको देखिन्छ ।
सिन्धुलीका पुराना नेता हरिबोल गजुरेललाई पाखा लगाउदै संघीय निर्वाचनमा राजन दाहालले टिकट लिएसँगै रुष्ट बनेका गजुरेलले पनि राजन दाहाल बिरुद्ध अभिब्यक्ति दिदै आएको राजन दाहाल पक्षका कार्यकर्ताहरुको आरोप रहेको छ । राजन दाहाल पक्षका एक जिल्ला कमिटी सदस्यले भने, ‘अहिले राजन दाहाल बिरुद्ध जुन हिसाबले मोर्चाबन्दी भईरहेको छ, त्यो सफल हुन सक्दैन । दाहाल जनताको मनमनमा बस्न सफल नेता हो । पार्टी भित्रका टुरिष्ट नेताहरुले मोर्चाबन्दी गर्दैमा केही फरक पर्दैन ।’ राजन दाहालसँग पार्टी भित्र तथा बाहिरको श्रोतसाधन पनि नियन्त्रणमा रहेकाले अन्य नेताहरुले केहि गर्न नसक्ने उनले दाबि गरे ।