बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका सांसदलाई नियम पढाउदैँ अन्य सांसद

मंगलवार , आश्विन ३०, २०८०

सिन्धुली– सार्वजनिक भाषण र वाक्पटुताका लागि कहलिनु भएका सांसद लेखनाथ दाहाल ‘राजन’ पछिल्लो समय आफ्नै सार्वजनिक अभिव्यक्तिका कारण आलोचित हुनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कट्टर समर्थक राजनले दिएका अभिव्यक्तिहरु खिसिट्युरीको विषय बन्ने गरेको छ । “प्रचण्डलाई हेर्न मात्रै महिनामा हजारौँ आउँछन्” भन्ने अभिव्यक्ति होस् वा “प्रचण्डको सरकार बनेपछि निरन्तर क्रिकेट जगतमा नेपालले अन्तर्राष्ट्रिय सफलता हासिल गरिरहेको छ” भन्ने हाँस्यास्पद भाषण दिएर राजन ‘ट्रोल’ को शिकार बन्दै आउनु भएको छ ।

सामाजिक संजालमा सांसद दाहाललाई सल्लाह सुझाव दिनेको संख्या त ठूलै छ । सामाजिक संजालमा मात्रै नभएर सांसद दाहाललाई प्रतिनिधिसभाको बैठक र समितिको बैठकमा समेत समकक्षीले नियम पढाउदैँ आएका छन् । गत असोज २४ गते बुधबार प्रतिनिधि सभा सार्वजनिक लेखा समिति बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह र राजनबिच चर्कोचर्किनै भयो । यतिसम्म कि सिंहले सांसद दाहाललाई गुण्डा भनेपछि अन्य सांसद अलमलमै परे । लेखा समिति बैठकमा अमरेश बोल्दा बोल्दै दाहालले समय सकियो भनेपछि सिंह झोक्किनु भएको थियो । प्रधानमन्त्रीको आलोचना गरिरहेका बेला आफूलाई रोक्न खोजेपछि आक्रोशित बन्नुभएका सिंहले दाहाललाई संसदीय प्रक्रिया सिकाउदैँ भन्नुभयो, “मलाई रोक्ने तपाईँ को हो ? तपाईँ पहिलोचोटी सांसद भएको आफ्नो स्थानमा बस्नुस्, संसदीय समितिको नियम छ, बीचमा टोक्न पाइन्छ ? सभापतिको अधिकार छ, यो माओवादी तन्त्र हिजोका तपाईँको गुण्डातन्त्र होइन, जंगलमा लुटेर आएको जस्तो होइन चल्दैन ।” समितिको सदस्यले बोलिरहेको बेला समय सकियो भन्ने अधिकार समितिको सभापतिको हुन्छ । तर, अन्य सदस्य बौल्दै गर्दा सांसद दाहालले क्षेत्राधिकार मिचेर रोक्न खोज्नुभएको थियो ।

त्यस्तै, गत असोज १९ गते प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजा भनेर सम्बोधन गरेपछि माओवादी सांसद दाहालले राजा शब्दलाई संविधानले नचिन्ने भन्दै संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो । उक्त विषयले सामाजिक संजालमा चर्चापनि पायो । तर, राप्रपाकै प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद कसैको हठले नचल्ने भन्दै प्रतिनिधिसभा नियमावलि २०७९ अध्ययन गर्न राजनलाई सुझाव दिनुभयो । उहाँले नियमावलीको नियम २१ को खण्ड घ मा राजा, राष्ट्रपति, प्रधानमन्त्री भन्ने शब्द अशिष्ट हुदैँन, असंसदिय हुदैँन उल्लेख गरेको भन्दै नियमावलि अध्ययन गरेरमात्र बोल्न सुझाव दिनुभयो । नियमावलीमा “कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने” भनिएको छ ।

पछिल्लो समय सोसल मिडिया र मूलधारका मिडियामा समेत बोलेरै चर्चामा आउनुभएका सांसद दाहाललाई धेरै खरानि नघस्न एक नेताले सुझाव दिएका छन् । उहाँले भन्नुभयो, “नयाँ जोगीले धेरै खरानि घस्छ । सांसद दाहालले अध्ययन गरेर बोल्दा राम्रो हुन्छ ।” नेतृत्वको नजरमा पर्न बहकिएर अभिव्यक्ति दिने भन्दापनि आफ्नो राजनैतिक भविष्यलाई ख्याल गरेर बोल्न ती नेताले आग्रह गरे ।

प्रतिक्रिया