शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा विदेशि पर्यटकलाई आकर्षित गर

शनिवार , आश्विन २०, २०८०

सिन्धुलीमा पछिल्लो दुई साता यता विदेशि पर्यटकको घुईँचो लागेको छ । रामेछापको मन्थलीबाट लुक्ला उडानकालागि अन्तर्राष्ट्रिय पर्यटक बास बस्नकालागि सिन्धुलीको सुनकोशी गाउँपालिकामा आउने गरेका छन् । बास बस्नकालागि मात्रै सिन्धुली पसेका ती पर्यटकलाई जिल्लाको पर्यटकिय गन्तव्यका बारेमा जानकारी दिन स्थानिय सरकारले कुनैपनि चासो नदेखाउनु दुर्भाग्य हो । विश्वमै नहारेको ब्रिटिस सेनालाई परम्परागत हतियार र युद्धकौशलकै बलमा गोर्खाली फौजले हार चखाएको किल्ला सिन्धुलीमा पर्दछ । तर, स्थानिय सरकारको उदासिनता, दुरदर्शिता र स्पष्ट योजनाको अभावले अन्तर्राष्ट्रिय पर्यटक ऐतिहासिक किल्ला सिन्धुलीगढीका बारेमा जानकार छैनन् । विदेशि पर्यटक बास बस्ने सुनकोशी गाउँपालिकाबाट केहि किलोमिटर पर रहेको अन्तर्राष्ट्रिय पर्यटकिय गन्तव्यका बारेमा प्रचारप्रसार गर्न स्थानिय सरकार चुक्दा जिल्लाको पर्यटन प्रबद्र्धन हुन सकेको छैन । नेपालकै पहिलो युद्ध संग्रहालय सिन्धुलीगढी संग्रहालयको निर्माणमा करोडौँ खर्च भएपनि प्रचारप्रसार गर्न कुनै योजना नहुँदा पर्यटन व्यवसायबाट सिन्धुलीवासिले लाभ लिन नसकेको अवस्था छ । नेपाल र अंग्रेजबीचको युद्धका दस्तावेज र प्रमाणहरूसहितको संग्रहालय अध्यन अवलोकन गर्न विशेषगरी इतिहासमा चासो राख्ने पर्यटकहरूको भिडनै लाग्ने गर्दछ । तर, जिल्लाका सरोकारवाला निकायले सिन्धुलीगढीको प्रचारप्रसारमा कुनै चासो नदेखाएको अवस्था छ । वीरताको इतिहासका दस्तावेजहरूसहित निर्मित संग्रहालय इतिहासका सोधकर्ता, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी तथा पर्यटकहरूका लागि महत्वपूर्ण आकर्षण केन्द्र बन्नुपर्नेमा सिन्धुलीगढी भन्दा ५० किलोमिटर कम दुरिमा रहेका पर्यटकनै अन्तर्राष्ट्रिय पर्यटकिय गन्तव्यमा आकर्षित हुन नसक्नु स्थानिय सरकारको हार हो । तसर्थ, स्थानिय सरकारले मुखमै आएको पर्यटकलाई पर्यटकिय गन्तव्यको बारेमा जानकारी दिन विशेष कार्यक्रम अघि बढाउन जरुरी     छ ।

जिल्लाका स्थानिय तहले होर्डिंग बोर्ड विज्ञापन कर ठेक्का कौडीको भाउमा निजि कम्पनिलाई सुम्पेको छ । विपी राजमार्गको आकर्षक ठाउँमा रहेका होर्डिंग बोर्डबाट मासिक लाखौँ रुपैँया ठेकेदार कम्पनिले आम्दानि गरिरहेका छन् । जिल्लाको पर्यटकिय गन्तव्य प्रबद्र्धनकालागि राजमार्ग आसपासका क्षेत्रमा रहेको होर्डिंग बोर्ड उपयुक्त माध्यम हो । तर, स्थानिय सरकारले आफ्नै श्रोतसाधनलाई पर्यटकिय गन्तव्यको प्रचारप्रसारमा उपयोग गर्न सकेको छैन । तसर्थ, जिल्लाका स्थानिय तहले पर्यटन प्रबद्र्धनकालागि विशेष योजना बनाएर अघि बढ्न जरुरी छ । अतः रामेछापमा आएका विदेशी पर्यटकलाई सिन्धुलीका पर्यटकिय गन्तव्यसम्म आकर्षित गर्न स्थानिय सरकार लगायत जिम्मेवार निकायले आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।

सम्बन्धित विषय:

प्रतिक्रिया