सिन्धुली –सिन्धुलीको स्थानिय तहका दलित महिला सदस्यहरु दलित समुदायको हक अधिकारका लागी सक्रिय रुपमा लागी पर्न थालेका छन ।
वडामा आउने बजेट तथा कार्यक्रम दलित समुदायको पहुँचमा पुर्याउनको लागी महत्वपूर्ण भुमीकामा देखिन थालेका छन । जनप्रतिनिधी भएपछि धेरै कुरा बुझ्ने अवसर पाएकाले दलित समुदायको हक अधिकार माग्न सक्ने भएको फिक्कल गाउँपालिका वडा नं.२ की दलित महिला सदस्य मिना बिकले बताउनुभयो ।
बिक जस्तै वडामा निर्वाचित दलित महिला सदस्यहरु आफ्नो समुदायको हक अधिकार प्रति सचेत हुन थालेका छन । दलित समुदायको लागी आएको बजेट अन्यत्रै खर्च गर्ने परिपाटीको बिरुद्ध आवाज उठाईरहेका छन ।
“पहिले आफुहरुको हक अधिकार के हो ? दलितको निम्ती कति बजेट आउँछ भन्ने थाहा नै थिएन ।” कमलामाई नगरपालिका–११ की दलित महिला सदस्य तथा नगरकार्यपालिका सदसस्य उमा विश्वकार्मा भन्नुहुन्छ ,“ तर अहिले जनप्रतिनिधी भएपछि धेरै कुरा बुझ्ने भएकाले दलित समुदायको क्षमता विकासका साथै सिपमुलक तालिमका लागी बजेट छुट्याउन पहल गरिरहेको छु ।”
सुनकोशी गाउँपालिका–३ की दलित महिला सदस्य तथा कार्यपालिका सदस्य बिन्दा आछामी पनि जनप्रतिनिधी भएपछि धेरै कुरा सिक्ने अवसर पाएको बताउनुहुन्छ । पहिले पहिले आफ्नै हक अधिकार बारे अन्यौलमा रहेको बताउने आछामी अहिले दलित समुदायको लागी आएको बजेट उनीहरुकै लागी खर्च गर्नुपर्ने रहेछ भन्ने बुझेको बताउनुहुन्छ । दलितका लागी आएको बजेट अन्य बिकास आयोजनामा खर्च गरिदै आएको बताउँदै अव दलित समुदायकै सिप र क्षमता बिकासमा खर्च गर्न आफु लागीपरेको आछामीले बताउनुभयो ।
त्यस्तै कमलामाई नगरपालिका–४ की गोरीमायाँ सार्की पनि दलित समुदायको विकासका लागी सधै क्रियाशिल हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बजेटमा दलित समुदायका महिलाहरुको सिप र क्षमता विकासका लागी बिशेष कार्यक्रम ल्याउन लागीपरेको छु ।” दलित महिलाहरुको सिप र क्षमता विकास गरेपछि मात्र आफुहरुको समुदाय माथि उठ्न सक्ने गोरीमायाँको विश्वास छ । वडाको बैठकमा दलित समुदायका समस्या समाधान गर्ने योजना निर्माण गर्नुपर्ने प्रस्ताव राख्ने गरेको बताउँदै सधै वडा अध्यक्षलाई दलित समुदायको समस्या समाधानका लागी योजना निर्माण गर्न झक्झकाउने गरेको बताउनुभयो ।
जनप्रतिनिधी भएपछि दलित महिलाहरु विभिन्न् तालिम, गोष्ठी तथा सभा सम्मेलनहरुमा सक्रिय रुपमा सहभागीता जनाईरहेका छन । आफ्नै हक अधिकार बारे अन्यौलमा रहेका उनीहरु राज्यले अवसर दिएकाले अहिले उनीहरु सिंगै समाजको नेतृत्व गर्न सक्ने भएको बताउछन ।
सरकारले प्रत्येक वडामा दलित महिलाहरुलाई वडा सदस्यको रुपमा अनिवार्य सहभागीता गराउने निती लिएपछि सिन्धुलीका ७९ वडामा दलित महिलाहरुको सहभागीता रहेको छ । वडा सदस्य मात्र होइन प्रत्येक स्थानीय तहमा दलित महिलाहरु कार्यपालिका सदस्यको रुपमा विभिन्न् विभागीय समितिहरुको जिम्मेवारीमा समेत सक्रिय रहेका छन ।
स्थानीय सरकारको निती निर्माण तथा कार्यान्वयनको तहमा समेत दलित महिलाहरुको सहभागीताले समाजमा दलित महिलाहरुको क्षमता विकाससँगै दलित समुदाय उत्साहित समेत भएका छन ।