सिन्धुली– संघीय सांसद लेखनाथ दाहाल ‘राजन’ ले सिन्धुलीका कार्यक्रममा प्रमुख अतिथि बन्न नपाउँदा कार्यक्रमनै भाँड्ने गरेको नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले आरोप लगाउनुभएको छ । घिसिङले सामाजिक संजाल फेसबुक मार्फत दाहालको प्रमुख अतिथि बन्ने मोहको बारेमा टिप्पणी गर्नुभएको हो ।
जिल्लाका कार्यक्रममा प्रमुख अतिथि नपाउँदा कार्यकर्ता लगाएर कार्यक्रमनै भाँड्न खोज्ने राजन प्रवृत्तिबारे आफू जानकार रहेको घिसिङले बताउनुभएको छ । सांसद दाहालले जिल्लामा नवनिर्मित संरचनाको शिलालेखमा आफ्नो नाम नराख्दा वितण्डा मच्चाउने गरेको घिसिङले आरोप लगाउनुभएको छ । आफ्नो नाम शिलालेखमा नभएपछि सांसद दाहालले अरुको नामपनि राख्न नदिने गरेको सूचना आफूसँग रहेको घिसिङले बताउनुभएको छ ।

साथै, घिसिङले सांसद दाहालको अभिव्यक्तिमा समेत आपत्ति जनाउनुभएको छ । सांसद दाहालले पशुपतिको जलहरीको विषय उठाएर निरन्तर एमाले अध्यक्ष केपी ओलीमाथि गरेको टिकाटिप्पणी चर्चा कमाउने ‘स्टन्ट’ मात्र भएकोे घिसिङले बताउनुभयो । सांसद दाहालले पशुपतिमा सुनले नाम लेखाउने रहर जागेर ओलीले जलहरी लगाएको अभिव्यक्ति दिएपछि घिसिङले विरोध गर्नुभएको हो । एमालेका अध्यक्ष ओलीको बदनाम गराउने र धार्मिक तथा साँस्कृतिक बितण्डा मच्चाउने उद्धेश्यसहित सांसद दाहालले पशुपतिको जलहरी विषयमा अनावश्यक स्यालहुईँया गरेको घिसिङले आरोप लगानउनुभयो ।
साथै, अध्यक्ष ओलीमाथी नांगो प्रहार गरिएकोप्रति घिसिङले आक्रोश पोख्नुभएको छ । उहाँले सिंगो एमाले माथीको प्रहार तत्काल बन्द गर्न सांसद दाहाललाई चेतावनि दिनुभएको छ । ‘राजनीति पेसा होइन । एउटा नेताले मरणोपरान्त प्राप्त गर्ने नाममात्र हो । अध्यक्ष ओलीले गरेको काममा त्यही एउटा नाम राख्नु अपराध हो ? नाम राखेको बिषयमा जसरी स्यालहुइयाँ मच्चाएर एमाले र नेतृत्वको बदनाम गर्ने कार्य निरन्तर रहेमा यो आक्रोश बदलामा परिणत हुन समय लाग्दैन ।’, घिसिङले फेसबुकमा लेख्नुभएको छ ।
सिन्धुली सौगातसँगको कुराकानिमा घिसिङले भन्नुभयो, ‘सांसद दाहालले कार्यकर्तानै खटाएर सामाजिक संजालमा अफवाह फैलाउने गरेका छन् । जिल्लाको सबै योजना उहाँलेनै ल्याएको जस्तो गरि भ्रमको खेति भइरहेको छ ।’ चर्चाकालागि ‘फेक स्टन्ट’ गर्न दाहाल माहिर रहेको घिसिङले बताउनुभयो ।