सिन्धुली– १३ वर्षको कलिलो उमेरमै बन्दुक बोकेर सशस्त्र युद्धमा होमिनुभएका विमर्श मुक्तानले स्थानिय सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको छ ।
२०५६ सालमा माओवादीले नेतृत्व गरेको सशस्त्र युद्धमा होमिनुभएका मुक्तानको नाम पार्टीले ‘प्रख्यात’ राखिदियो । सानै उमेरमा सशस्त्र युद्धमा माओवादी छापामार बन्नुभएका प्रख्यात अहिले सिन्धुलीको मरिण गाउँपालिकाको अध्यक्ष भएर जनताको सेवा गरिरहनुभएको छ । जंगल हुदैँ सत्तामा पुग्नुभएका प्रख्यातको काँधमा अहिले मरिण गाउँपालिकाको रुपान्तरणको जिम्मेवारी छ । स्थानिय सरकारमा एक कार्यकाल वडाध्यक्ष भएर गाउँमा विकास निर्माणमार्फत जनताको सेवा गर्नुभएका प्रख्यातलाई २०७९ को स्थानिय तहको चुनावमा मरिणवासिले गाउँपालिका अध्यक्षमा निर्वाचित गराएका थिए । सशस्त्र युद्धमा लागेको एक वर्षपछि जनमिलिसिया कमाण्डर, छापामार, जिल्ला प्लाटुन, कम्पनी, बटालियन हुदैँ बिभिन्न तहगत जिम्मेवारी पुरा गर्नुभएको प्रख्यातले गोलीकोपनि सामना गर्नुपर्यो ।

२०५९ सालमा सिराहाको बन्दिपुरमा दोहोरो भिडन्त हुँदा घाँटीको रुद्रघण्टीमा बमको छर्रालागि घाइते हुनुभएका प्रख्यात जनमुक्ती सेनामा निडर एवं साहसि सिपाइको रुपमा चिनिनुहुन्थ्यो । तीनै प्रख्यातले स्थानिय सरकार संचालन गरेको झण्डै एक वर्ष पुगेको छ । प्रख्यातले स्थानिय सत्ता उत्कृष्ठ तरिकाले संचालन गरिरहेको स्थानिय बताउँछन् । सिन्धुलीका कान्छा स्थानिय तह प्रमुखले परिपक्व काम गरिरहेको तथ्यांकले पनि देखाएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको २०७९ को एक वर्षे प्रतिवदेनमा मरिण सिन्धुलीकै सबैभन्दा कम बेरुजु भएको स्थानिय तह बनेको छ । स्थानिय तहको नेतृत्व सम्हालेको पहिलो वर्षमै जिल्लाकै सबैभन्दा कम बेरुजु भएको स्थानिय तह बनाउन प्रख्यात सफल हुनुभएको छ ।
बन्दुकहुदैँ मरिणको विकासको जिम्मेवारी बोक्नुभएका प्रख्यातले शिक्षा, स्वास्थ्य र नागरिकको आधारभुत आवश्यकता पुरा गर्न खटिरहनुभएको छ । स्थानिय सरकारको नेतृत्वमा आएपछि मरिणवासि प्रख्यातको कामप्रति सन्तुष्ट छन् । तर, प्रख्यात भने एकवर्षमा सबै योजना पुरा गर्न नसकिने बताउँदै मरिणवासिको आधारभुत आवश्यकता पुरा गरेको बताउनुहुन्छ । गाउँपालिकाको अध्यक्ष भएको एक महिनामै मोक्तानले मरिणमा सामाजिक भत्ता वितरणलाई सहज बनाएको ६ नम्बर वडाका ६३ वर्षिय सुकुमाया तामाङले बताउनुभयो । टोल टोलमा शिविर राखेर सामाजिक भत्ता वितरण गर्दा वृद्ध र शारिरिक अपांगता भएका स्थानियको अनुहारमा खुशी देखेको अध्यक्ष मोक्तान बताउनुहुन्छ ।
शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिनुभएको प्रख्यातले शैक्षिक गुणस्तरीयता कायम गर्न सधैँ अग्रसर देखिनुभएको छ । मरिण गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायत सार्वजनिक सेवामा रहेकाहरुको छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने निति पास गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ मा उक्त निति कार्यान्वयन गर्न बृहत गृहकार्य भइरहेको प्रख्यात बताउनुहुन्छ । शिक्षामा पहुँच बढाउन ११ कक्षा भर्ना हुने छात्राकालागि साईकल, सामुदायिक विद्यालयलाई बसको व्यवस्था र स्नातक पास गरेपछि विवाह गर्ने छात्रालाई एक लाख वितरण गर्ने र कक्षा १२ सम्म निशुल्क शिक्षा जस्ता नविनतम कार्यक्रमहरु मरिणले ल्याएको छ । तटबन्धन निर्माण, सिचाईको व्यवस्था, खानेपानीको आपूर्ति लगायत नागरिकको न्युनतम समस्या समाधान गर्न गाउँपालिकाले तिव्र गतिमा काम गरिरहेको मुक्तान बताउनुहुन्छ ।
१८ वर्ष अघि दोहोरो भिडन्तमा लागेको बमको छर्रा निकाल्न शल्यक्रिया गर्दाको तस्बिर .
मरिणवासिले स्वास्थ्य उपचारकालागि बाहिर जानु नपर्ने गरि अस्पताल निर्माणको प्रक्रिया शुरु भएको प्रख्यातले बताउनुभयो । एम्बुलेन्स खरिद देखि प्रत्यक वडामा स्वस्थ्य इकाई खडा गरि स्वस्थ मरिण बनाउन आफूलागि परेको मोक्तान बताउनुहुन्छ । सशस्त्र युद्धका बेला घाँटीमा लागेको बमको छर्रा १८ वर्षपछि निकालेका प्रख्यातले मरिणका नागरिकलाई रोग पालेर बस्नु नपर्ने अवस्था सिर्जना गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मरिण गाउँपालिकाले स्वास्थ्य स्वयंसेविलाई गाउँगाउँमै लगेर स्थानियको उपचार गरिरहेको छ ।’
जनमिलिसिया कमाण्डर हुदैँ गाउँपालिकाको अध्यक्ष हुनुभएका मोक्तानले नेतृत्व सम्हालेको एक वर्षमा सत्ता संचालनको सिप सिकेको बताउनुभयो । आगामी चार वर्षमा आफूले सिकेको सिपलाई नागरिकप्रति समर्पित गर्दै सेवामा लागिरहने प्रख्यात बताउनुहुन्छ । गाउँपालिकाले आर्थिक अनियमितता, भ्रष्टाचार र कुशासनप्रति शुन्य सहिष्णुता अपनाएको अध्यक्ष मोक्तानको भनाई छ । १३ वर्षकै उमेरमा बन्दुक बोकेर नागरिकको अधिकार प्राप्तिकालागि लड्नुभएका प्रख्यात अहिले नागरिकलाई सेवा दिन सार्वजनिक पद धारण गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘सत्ताले उन्माद ल्याएको छैन । जिन्दगिको उर्जाशिल समयनै देशलाई सुम्पेको योद्धा सधैँ नागरिकको सेवामा लिप्त हुनेछ ।’
मरिण गाउँपालिका ५ कि सिता मगरले असिना खेपेको मकै र नागरिकको पिडा बुझेको नेता कहिलेपनि नबिग्रिने बताउदैँ गाउँपालिका अध्यक्ष प्रख्यातले स्थानियको सेवामा दिनरात खटिरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘मरिणले इमान्दार, कर्मठ एवं अध्ययनशिल अभिभावक पाएको छ ।’