पार्टी सुदृढीकरण र विस्तार अभियानको लक्ष्य हो : नेपाल
सिन्धुली– नेकपा(एमाले) केन्द्रीय समितिको निर्णय अनुसार नेकपा(एमाले) देशैभरि २ महिने मिशन ग्रासरुट अभियानको सुरुवात गरेको छ ।
सिन्धुलीमा बुधवारबाट सुरु हुने मिशन ग्रासरुट अभियानको बारेमा जानकारी गराउँदै नेकपा(एमाले)का केन्द्रिय सदस्य सरेश नेपालले पार्टी सुद्धिकरण र सुदृढीकरणका लागी मिशन ग्रासरुट अभियानको सुरुवात गरिएको बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा सिन्धुलीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले भन्नुभयो, “मिशन ग्रासरुट मुलत पार्टी सुद्धिकरण र सुदृढीकरणका लागी हो, पार्टीलाई कार्यकर्ता र जनतासँग अझ बढी सुमुधुर बनाउनका लागी हो ।” अभियान अन्र्तगत बर्तमान राजनैतिक परिस्थितीको बारेमा तल सम्मका बुझाईहरुको केन्द्रिकरणका साथै जनजिविकाका मुद्धा, स्थानीय सरकारका गतिविधी र जनउत्तरदायीत्वका सवाल, सदस्यता विस्तार र नविकरण लगायतका गतिविधी हुने नेपालले बताउनुभयो ।
मिसन ग्रासरुट केन्द्रीय नेतृत्वलाई आधारभूत तहका कार्यकर्तासँग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसँग जोड़ने अभियान पनि रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “समग्रतामा सिंगो पार्टीलाई आम जनतासंग जोड्ने अभियान हो, भविष्यमा नेकपा(एमाले)लाई बहुमत प्राप्त बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने गरी पार्टीको सदस्यतालाई व्यवस्थित गर्ने अभियान हो । ”
पत्रकार भेटघाट कार्यक्रममा अभियानको बारेमा आफ्नो भनाई राख्दै नेकपा(एमाले) जिल्ला अध्यक्ष कुमार बहादुर कार्की (रामकुमार)ले अभियानले पार्टीलाई नयाँ उचाईमा विकास गर्ने र जनताका मुद्धाको पहिचान र हल गर्ने उपायहरुको खोजि गर्ने बताउनुभयो ।
अध्यक्ष कार्कीले अभियानबाट पार्टी सदस्यको वास्तविक अभिलेख, पार्टी सदस्यहरुको विशिष्टकृत क्षमताको पहिचान, नयाँ पुस्तालाई पार्टीमा जोड्ने, स्थानिय तहमा पार्टी एकतावद्ध र सुदृढ गर्ने, जनसरोकारका मुद्दाहरु पहिचान गर्ने लगायतका कामहरु हुने बताउनुभयो ।
अभियानले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न नेकपा(एमाले)लाई अझ संसक्त बनाउने अध्यक्ष कार्कीले विश्वास ब्यक्त गर्नुभयो ।
बुधवार नेकपा(एमाले) सिन्धुलीले जिल्ला कमिटी, नगर तथा गाउँपालिका कमिटीका पदाधिकारी, वडा कमिटीका अध्यक्ष तथा सचिब लगायतको उपस्थितीमा अभियान बारे अभिमुखीकरण गर्ने कार्यक्रम रहेको जिल्ला सचिब नारायण बरालले जानकारी दिनुभयो ।
सिन्धुलीका विभिन्न् स्थानीय तहमा अभियानको नेतृत्व गर्न केन्द्रिय सदस्य सरेश नेपाल, दावा लामा र प्रभा बराललाई केन्द्रिय समितिले जिम्मेवार तोकेको छ ।