बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

काँग्रेसभित्र अवसरबादीहरुको झुन्डले घेर्ने समस्या छ : कोइराला

मंगलवार , फाल्गुण ९, २०७९

सिन्धुली – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेसभित्र अवसरवादिहरुको झुण्डले घेर्ने समस्या रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस सिन्धुली क्षेत्र नम्बर ‘२’ को प्रदेश १ ले आयोजना गरेको सहिदको सम्मान तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कोइरालाले काँग्रेस भित्रको समस्यालाई उजागर गर्दै नेता तथा कार्यकर्तालाई सिद्धान्त र विचारमा चल्न आग्रह गर्नुभयो । उहाँले विचार र सिद्धान्तलाई पन्छाएर जाने समस्या आएको भन्दै नेपाली काँग्रेसमा विचार र सिद्धान्त बिस्तारै कमजोर हुँदै गएको बताउनुभयो । उहाँले नेपाली काँग्रेस सहित अन्य राजनीतिक दलमा विचार बिनाको राजनीति चलिरहेको बताउनुभयो । सिद्धान्त र विचार बिना राजनीति चल्न नसक्ने उहाँको भनाई छ । काँग्रेसका नेता कार्यकर्ता काँग्रेससँगै नजिक नभएर कोही एमाले कोही माओवादी र कोही मधेशवादी दलसँग नजिक भएर गुटगत राजनीति गर्नुभन्दा नेपाली काँग्रेसकै साथीहरूसँग नजिक भए कसैले हल्लाउन नसक्ने डा. कोइरालाको भनाई छ । युवा वर्गमा राजनीति प्रति वितृष्णा बढ्न थालेकाले काँग्रेसले युवाहरूलाई समेट्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।

आगामी निर्वाचनका मतदाता हालका १४÷१५ वर्षका बालबालिकानै हुने भएकाले उनीहरूलाई समेत काँग्रेसको विचार र भिजन बुझाउनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, “लोकतन्त्र, सुशासन, पारदर्शी, जबाफदेहिता र उत्तरदायित्वको बारेमा १४÷१५ वर्षका बालबालिकालाई बुझाउनुपर्छ ।”

त्यसैगरि, राष्ट्रपतिको निर्वाचनमा काँग्रेसकै उम्मेदवार विजयी हुने उहाँले दाबी गर्नुभएको छ । उहाँले काँग्रेसले राष्ट्रपति पाउनु पर्छ भन्नेमा आफू विश्वस्त नभएको बताउँदै काँग्रेसले राष्ट्रपति लिएरै छाड्ने बताउनुभएको छ । उहाँले भन्नुभयोे, “राष्ट्रपति पाउने होइन लिने हो, लिएर जितेर देखाउने हो । राष्ट्रपति काँग्रेसको उम्मेदवार हुन्छ र काँग्रेसको उम्मेदवारलाई जिताउँछौ भन्ने विश्वास दिलाउन चाहन्छु”, उहाँले थप्नुभयो, “राष्ट्रपतिमा नेपाली काँग्रेसको उम्मेदवार हुन्छ र नेपाली काँग्रेसले जित्छ ।”

सोही कार्यक्रममा नेपाली काँग्रेसका नेता स्वाणिम वाग्लेले नेपालमा कुनियत सहितको कु शासन चल्न थालेको शंका व्यक्त गर्नुभएको छ । उहाँले तत्काल नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो हुने अवस्थामा नभएपनि राजनीतिक प्रणालीमा सुधार हुनुपर्ने औँल्याउनुभयो । उहाँले लोकतन्त्रको खाका ठिकै भए पनि अहिलेको लोकतन्त्र भित्र देखिएका तमाम विसंगति र विकृति पखाल्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया