सिन्धुली – शिक्षामा ब्यापक राजनितीकरण हुँदा सरकारी शिक्षाको गुणस्तर र अभिभावकहरु प्रतिको जनविश्वास सरकारी विद्यालयहरुले गुमाउँदै गएका छन । जिल्लामा सञ्चालित ५५१ सामुदायीक विद्यालयहरुमा बालविकास तर्फ ३४०, थाई तर्फ ६७४, करार तर्फ ५३७, राहत तर्फ ८०४, निजिश्रोत २७३ लगायत जम्मा २ हजार ८ सय १५ शिक्षक कार्यरत रहेका छन ।
शिक्षा ऐन तथा नियमावलीले शिक्षकहरु कुनै पनि राजनैतिक पार्टीको सदस्य बन्न नपाईने तर पेशागत हकहितका लागी पेशागत संस्थामा आबद्ध हुन पाउने भनिएपनि जिल्लाका अधिकांश शिक्षकहरु राजनैतिक पार्टी तथा पार्टी निकट संघ संगठनमा आवद्ध हुने गरेका छन ।
काँग्रेस, एमाले र माओवादी निकट शिक्षक संघ÷संगठनमा आवद्ध शिक्षकहरुको संख्या ३ हजार ९ सय ६३ रहेको छ । दर्जनौं शिक्षकहरु दलको कार्यकारिणी पदमा रहेका छन भने अधिकांश शिक्षकहरुले विभिन्न् पार्टीको सदस्यता लिने गरेका छन ।
नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघमा १ हजार १ सय ७६ क्रियाशिल सदस्य रहेको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष अरुण कुमार थिङ्गले बताउनुभयो । शिक्षकहरु शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने कुरामा जिम्मेवार बनेर लाग्नु पर्ने तर अन्य समयमा आफ्ना स्वतन्त्रता प्रयोग गर्न पाउनुपर्ने थिङ्गले बताउनुभयो ।
त्यस्तै नेकपा(एमाले) निकट शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनमा १ हजार ४ सय शिक्षक आवद्ध रहेको जिल्ला अध्यक्ष डा.हरि पोखरेलले बताउनुभयो । त्यस्तै नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल शिक्षक संगठनमा जिल्लाका १ हजार ३ सय ८७ शिक्षक आबद्ध रहेको अध्यक्ष सन्तोष श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले शिक्षाको सुधारका लागी ऐन तथा नियमावलीको कार्यान्वयन गर्दै शिक्षकहरु पेशागत ट्रेड युनियन बाहेक पार्टीको सदस्य र कार्यकारी जिम्मेवारीमा बस्नु नहुने तथ्यलाई स्वीकार्दै आफुहरु त्यसको लागी तयार रहेको स्पष्ट पार्नुभयो ।
शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली–२०५९ ले शिक्षकहरुको हकहितको लागी सामुदायीक विद्यालयका शिक्षकहरुको हकहितको कार्य गर्न नेपाल शिक्षक महासंघ रहने ब्यवस्था छ । त्यस्तै ऐनले शिक्षक तथा विद्यालयका कर्मचारीहरु राजनैतिक दलको कार्यकारीणी समितिमा बस्न नपाउने समेत ब्यवस्था गरेको छ ।