बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सकिएको युद्ध तर कहिल्यै नसकिएको पिडा

सोमवार , फाल्गुण १, २०७९

द्धन्द्ध पिडितहरु भन्छन, “युद्धको घाउ अझै आलै छन ।”

सिन्धुली – तत्कालिन नेकपा(माओवादी)ले २०५२ साल फाल्गुण १ गते सुरु गरेको जनयुद्धले आज २७ बर्ष पुरा गरेको छ । सामन्ती राजतन्त्रको अन्त्य गर्दै समाजको आमुल क्रान्तिकारी रुपान्तरण लागी सुरु गरिएको भनिएको जनयुद्ध २०६३ मंसिर ५ मा भएको शान्ति सम्झौता सँगै समाप्त भएको घोषणा गरिएको थियो । औपचारिक रुपमा युद्ध त समाप्त गरियो तर युद्धले निमत्याएका पिडा र ब्यथाहरु कहिल्यै नसकिने पिडाको रुपमा रहिरहेको छ ।

युद्धको समयमा सत्तापक्ष र बिद्रोही पक्ष भएका राजनैतिक दलहरु मिलेर २०६३ देखी लगातार सत्ता सहयात्रा गरिरहेको भएपनि नागरिकहरुमा द्धन्द्धले निमत्याएका समस्या, पिडा ब्यथा र कथाहरु सकिएको छैन । द्धन्द्धबाट पिडित भएका हजारौं नागरिकका घाउ अझै आलै छन ।

सिन्धुलीमा द्धन्द्धको क्रममा धेरै मानवीय तथा भौतिक सम्पत्तिको क्षति भएको थियो । हालसम्ममा २३१ परिवारले आर्थिक राहत स्वरुप १० लाख रकम प्राप्त गरेका छन । यस्तै बेपत्ताहरुका १५ जना परिवारले १०/१० लाखको दरले राहत बुझेका छन । प्रतिशतका आधारमा घाईते अपांग १३ जनाले राहत पाएका छन । आमा–बुवा गुमाएका अभिभावक बिहीन बालबालिका १२ जनालाई, विस्थापित ३८ जना परिवारहरुलाई राहत प्रदान गरिएको छ । सम्पति क्षतिमा ४८ जनाले राहत प्राप्त गरेको तथ्यांक तत्कालिन शान्ति समितिको रेकर्डमा छ ।

स्थानीय शान्ति समिति मार्फत विस्थापित, सम्पति क्षति, घाईते र अंगभंगहरुको तथ्यांक संकलन गरि राहतका लागी सिफारिस भएको थियो । तत्कालिन अवस्थामा शान्ति समितिले सिफारीस गरेका कतिले राहत पाएका छैनन् भने पाउनेहरुका लागी पनि यो राहत पूर्ण छैन ।

कहालिलाग्दो द्धन्द्धमा आफ्ना सदस्यहरु गुमाउँदाको पीडा त छँदैछ त्यसैमा शान्ति प्रक्रिया अगाडी बढेको सत्र बर्ष बितिसक्दा पनि देशमा स्थायी शान्ति र युद्धका पिडितहरुको नाजुक अवस्था अन्त्य नहुनु दुर्भाग्यपूर्ण अवस्था हो ।

युद्धमा राज्य पक्ष र विद्रोहीपक्षबाट गरि सिन्धुलीमा झण्डै २५० जनाले ज्यान गुमाएका थिए । परिवर्तनकारी आन्दोलनको प्रतिकको रुपमा सिन्धुली पनि परिचित बनेको थियो । त्यो आफै बनेको होइन, सयौं सिन्धुलीबासीहरुको दुःख, ब्यथा र कथाहरु समेटिएको छ ।

युद्धका शहीद खम्बसिंह गुरुंगकी श्रीमती मनमायाँ गुरुंगले भन्नुभयो,“ मेरो जीवनसाथीलाई जनताको मुक्तिका लागि युद्धमा सहभागि हुन सहमति दिएँ, उहाँ शहीद हुनुभयो, हिजो एकअर्कासँग लडेकाहरु आज मिलिमिली सत्ता चलाइरहेका छन, बलिदान गर्ने परिवारलाई कुनै वास्तै छैन ।” उहाँले भन्नुभयो, “मेरो श्रीमान जस्तै हजारौँको शहीदका सपना पूरा कहिले हुन्छ ?” उहाँ जस्तै युद्धको क्रममा मृत्यू हुने सिन्धुलीका आफन्तका पिडा र आक्रोस सुन्ने कोही छैन ।

युद्धका पिडितहरु भनिरहेका छन राज्यले किन विभेद गरिरहेको छ ? हामी र हाम्रो परिवारको रगतको अपमान भैरहेको जनयुद्धका शहीदका आफ्न्तजनहरुले गुनासाहरु गरिरहेका छन । युद्धमा राज्यपक्षबाट आफ्नो बावु गुमाएका दुधौली नगरपालिका–२ का बिमल बिक भन्नुहुन्छ, “ हाम्रो लगानी र बलिदानबाट आएको परिवर्तनलाई नेताहरुले पोलेर खाए, बलिदानको अपमान भयो ।” शहीदहरुको अपमान भएको र सपना माथि घात भएको बिक बताउनुहुन्छ ।

युद्धकै क्रममा तत्कालिन माओवादीले आफ्नो बुवा प्रेम बहादुर पोखरेललाई सामन्ती भन्दै खुकुरीले छिमालेको, ब्यवसायी नारायण श्रेष्ठलाई गोली हानेर ढालेको घटना आफुले कहिल्यै भुल्न नसक्ने छोरा दिपक कुमार पोखरेल बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ,“ द्धन्द्धले दिएको पिडालाई हामी कसरी भुल्न सक्छौं, तर आज तिनै द्धन्द्ध गर्ने दलहरु नै मिलेर भागवण्डा गरेर देश चलाउदा मन अमिलो हुने गरेको छ ।”

त्यस्तै माओवादी शसस्त्र द्धन्द्धको क्रममा दुबै खुट्टा काटिएका मरिण गाउँपालिका–६ का गोरे बहादुर श्रेष्ठको पिडा पनि उस्तै छ, उहाँ भन्नुहुन्छ, “राज्यले केहि राहत त दिएको छ तर यस्ले जिन्दगी चलाउन सक्ने अवस्था छैन , राज्यले आफुहरुलाई विशेष सम्मान गर्नुपर्छ ।”

राज्य र बिद्रोही पक्षबाट आफ्नो परिवारको सदस्य गुमाएका, घाईते भएका अनि भौतिक आक्रमणमा परेर पिडादायी जिवन विताईरहेकाहरुले युद्धको घाउ कहिल्यै विर्सन नसक्ने नेपाली काँग्रेसका नेता दिपक मिश्र बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ, “युद्धमा बाउआमा गुमाएका छोराछोरीहरु, छोराछोरी गुमाएका आमावुवाहरुले कसरी आफ्नो पिडालाई भुल्न सक्छन ।” राज्यले उचित ढंगले ब्यवस्थापन गर्न ध्यान नदिए अर्को बिद्रोह तिनै परिवारले गर्ने अवस्था आउने मिश्रले बताउनुभयो ।

नेता विभाजित कार्यकर्ता पलायन

सिन्धुली– जनयुद्धको समयमा पुर्वको रोल्पाको रुपमा स्थापित नेकपा(माओवादी) विभाजित छ । जनयुद्धको समयमा लागेका नेताहरु विभिन्न् पार्टी तथा समुहमा विभाजित भएका छन । जनयुद्धका नेता कार्यकर्ता प्रचण्ड, बैद्य, विप्लब, समाजवादी, नेकपा(एमाले) तिर बाडिएका छन भने कोहि निस्क्रिय बसेका छन ।

जनयुद्धका नेताहरु विभिन्न् समुहमा विभाजित भएपछि कार्यकर्ताहरु भने निराश हुँदै पलायन भएका छन । युद्ध लडेका कार्यकर्ता कोहि बैदेशीक रोजगारका लागी खाडी मुलुक पुगेका छन भने कोही पार्टीबाट निस्क्रिय रहेर स्वदेशमै विभिन्न् पेशा ब्यवसायमा लागेका छन । पार्टीले कलिलो उमेरमा जनयुद्धमा लाग्न प्रेरित गरेर आफुहरुलाई प्रयोग गरेर छाडिदिएको युद्ध लडेका कार्यकर्ता प्रदिप बर्देवा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ जिवनको उर्जाशिल समय परिवर्तनका लागी भनेर लगानी गरियो तर परिवर्तन त नेताहरु पो भए न समाज परिवर्तन भयो न हामी परिवर्तन हुन सक्यौं ।” जनयुद्धका नेता पटक–पटक सत्तामा पुग्दा पनि युद्धमा उर्जाशिल समय खर्च गरेका युवाहरु निराश बनेर बस्न बाध्य हुनुपरेको छ ।

 

प्रतिक्रिया