सिन्धुली – नयाँ प्रदेश सरकार गठनको बाटो खुलेसँगै बागमती प्रदेशमा संसदीय दलको नेतामा आकाँक्षीहरूको दौडधुप शुरु भएको छ ।
निर्वाचन आयोगले मंसिर ४ मा बागमतीमा सम्पन्न निर्वाचनको अन्तिम मत परिणामसहितको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई शनिबार बुझाएको थियो । आयोगले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएसँगै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुला भएको छ ।
सरकार गठनको बाटो खुलेसँगै बागमती प्रदेशसभामा निर्वाचित दलहरूमा संसदीय दलको नेता बन्न दौडधुप शुरु भएको हो। बागमती प्रदेशसभामा सत्ता गठबन्धनँग सरकार गठनका लागि स्पष्ट बहुमत रहेको छ ।
यसैले सत्ता गठबन्धनबाट निर्वाचित प्रदेशसभाका सदस्यहरू संसदीय दलको नेता चुनिएर मुख्यमन्त्री बन्ने कसरत गरिरहेका छन्। गठबन्धनमा रहेको नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सँग सरकार निर्माण गर्न आवश्यक प्रदेशसभा सदस्य रहेकाले मूलतः काँग्रेस र माओवादी केन्द्रभित्र संसदीय दलको नेता को बन्ने भन्नेमा बढी प्रतिस्पर्धा देखिएको छ ।
सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रमा पनि प्रदेश संसदीय दलको नेतामा ४ जनाबीच रस्साकस्सी शुरु भएको छ । २१ जना प्रदेशसभा सदस्यसहित संसदको तेस्रो दल बनेको माओवादीमा दलको नेता बन्न ४ जनाले कसरत थालेका हुन् ।
माओवादी केन्द्रमा सिन्धुपाल्चोकबाट निर्वाचित माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, बागमती प्रदेश सरकारको आर्थिक मामिलामन्त्री समेत रहेका धादिङबाट निर्वाचित प्रदेशसभा सदस्य शालिकराम जम्कट्टेल, सिन्धुलीबाट निर्वाचित गंगानारायण श्रेष्ठ र प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल संसदीय दलको नेता बन्न लविङमा छन् ।
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष रहनु भएका श्रेष्ठ डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्नुअघि माओवादी केन्द्रको नेता हुनु हुन्थ्यो । तर चुनावमा नयाँ शक्ति र माओवादीबीच भएको सहमतिअनुसार उहाँ माओवादीको चुनाव चिन्हबाट उठनु भएको थियो ।