ललितपुर ,५ मंसिर - आम चुनावअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट मतगणनाकाे प्रारम्भिक परिणाम आएको छ । निर्वाचन अधिकृत दीपशिखा मुनकर्मीका अनुसार अहिलेसम्म पाँच सय मत गनिएकाे छ । जसमा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले १ सय १६ मतका साथ अग्रता बनाएका छन् । लाैराे चुनाव चिन्ह लिएर चुनावमा हाेमिएकाे हाम्राे नेपाली पार्टीका सुदिन शाक्यले ९७ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ९० मत पाएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एस उम्मेदवार कृष्णलाल महर्जनले ६६ मत पाएका छन् ।
आइतबार दिनभर खसेको मत नेपाल तेक्वान्दो संघको कार्यालयमा साेमबार बिहानदेखि गन्न थालिएकाे हाे । प्रदेश र प्रतिनिधिसभा चुनावअन्तर्गत आइतबार देशभर मतदान भएको थियो । ललितपुर- २ मा ५२ हजार आठ सय ८२ मत खसेको छ । यो क्षेत्रमा सत्ता गठबन्धनबाट कृष्णलाल महर्जन र एमालेका प्रेमबहादुर महर्जन मुख्य प्रतिस्पर्धी हुन् ।