बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका दुर्गम क्षेत्रमा अशक्त र वृद्धलाई भोट हाल्न सकश

सोमवार , कार्तिक २८, २०७९

सिन्धुली– एकातिर सार्वजनिक सवारीसाधनको प्रयोगमा रोक, अर्कोतर्फ मतदान केन्द्र टाढा । सिन्धुलीको दुर्गम ठाउँका वृद्धवृद्धा, अशक्त, अपांग र सुत्केरी महिलालाई मतदान केन्द्रसम्म पुग्न सकस छ । मतदानको मिती नजिकिँदै जाँदा कसरी केन्द्रसम्म पुग्ने उनीहरूको चिन्ता छ ।

जिल्लाको कमलामाई नगरपालिका ४ केराबारीका ७५ वर्षिया विष लामालाई भोट हाल्न ढुंग्रेबासमा रहेको कमला माध्यमिक विद्यालय आउनुपर्छ । घरबाट झण्डै दुई घण्टाको बाटो हिँडेर मतदानस्थल सम्म पुग्न उहाँले दर्जन ठाउँमा विश्राम गर्नुपर्छ । उहाँ मतदान स्थलसम्म कसरी पुग्ने चिन्ता गर्नुहुन्छ । न त कुनै सवारीसाधन, न त मतदान केन्द्रसम्म पुग्न अरू कुनै सुविधा नै छ । “दुई घण्टा हिँडेर हामी बूढाबूढीले कसरी मतदान गर्ने ?”, लामाले भन्नुभयो । कनपा ४ मा चारवटा मतदान स्थल छन् । सो मतदान स्थलबाट चार हजार छ सय ६३ जनाले मतदाता छन् ।

कमलामाई नगरपालिका १२ धाक्लेकि शर्मिला खड्काको खुट्टामा चोट लागेको छ । सडक दुर्घटनामा परि देब्रे खुट्टामा चोट लागेको खड्कालाई बाझेस्थित तिनपाटन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रसम्म कसरी पुग्ने भनेर चिन्ता थपिएको छ । चोट लागेको खुट्टाले झण्डै दुई देखि तीन घण्टा हिँड्नुपर्ने भएपछि भोट हाल्ने कि नहाल्ने भन्ने दुविधामा हुनुहुन्छ, खड्का । हरेक निर्वाचनमा मतदान गर्न त्यहाँका नागरिकले सात/आठ किलोमिटर हिँड्नुपर्छ । निर्वाचनको दिन सवारी पास नभएका सनर्वजनिम सवारीसाधन सहज रुपमा चल्न पाउँदैनन् । सवारीसाधन नचल्दा पनि नागरिकलाई मतदानस्थलसम्म पुग्न कठिन हुनेगरेको छ । खड्का भन्नुहुन्छ, “मतदान गर्न पाउने हाम्रो अधिकार हो । तर, ज्येष्ठ नागरिक, अशक्त, तथा हिँड्न समस्या भएका नागरिक मतदान गर्नबाट वञ्चित भएका छन् ।”

मरिण गाउँपालिका ७ देवजोरकि ७६ वर्षिया देवि श्रेष्ठलाई बाह्रबिसे आधारभुत विद्यालयमा आउन झण्डै एक घण्टा लाग्छ । एउटामात्र मतदानस्थल रहेको ७ नम्बर वडामा श्रेष्ठ जस्तै अथ्वाकि ७२ वर्षिया दुर्गा मगरलाई मतदानस्थल पुग्न डेढ घण्टा लाग्छ । मगर भन्नुहुन्छ, “मतदानको दिन सरकारले अपांग, अशक्त, वृद्धवृद्धालाई मतदानस्थलसम्म पुर्‍याउन यातायातको व्यवस्था गरिदिए हिँड्नको दुखले भोट नगर्नेहरुको संख्यामा कमि आउने थियो ।”

सिन्धुलीमा दुई सय ६७ मतदान केन्द्र र एक सय ५१ मतदानस्थल रहेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ । ७९ वटा वडा रहेको सिन्धुलीका हरेक वडामा औसत दुईवटामात्रै मतदानस्थल रहेको छ । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाका दुई लाख ६३ हजार ३६ जनाले मतदान गर्दै छन् । सो मतदाता मध्य एक लाख पाच हजार नौँ सय ४२ जना पुरुष रहेका छन् भने एक लाख तीन सय ९३ जना महिला मतदाता रहेका छन् ।

प्रतिक्रिया