शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका पुराना कम्युनिष्ट नेतालाई सम्मान

आइतवार , कार्तिक २७, २०७९

सिन्धुली– नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट सिन्धुली क्षेत्र नं. २ प्रतिनिधीसभा सदस्यको उम्मेदवार मनोजजंग थापाले एक कार्यक्रमकाबीच कुसुमटारका पुराना कम्युनिष्ट नेता रुद्रमान थिङलाई सम्मान गर्नुभएको छ ।

२०१५ सालको आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट एजेण्टका रुपमा काम गर्नुभएका थिङलाई निर्वाचन अभियानका क्रममा एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका थापाले सम्मान गर्नुभएको हो । यस क्षेत्रमा कम्युनिष्ट पार्टीको संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका थिङले एमालेका तर्फबाट उमेदवार बन्नुभएका थापालाई विजयका लागि शुभकामना दिनुभएको थियो ।

२०१० सालदेखी कम्युनिष्ट पार्टीमा लागेर सिन्धुलीको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु भएका थिङले केपी ओलीले लिएको राष्ट्रियताप्रतिको अडानलाई खुलेरै प्रशंसा गर्नुभयो । दुई पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि नेकपाको निरन्तरताका रुपमा रहनुभएका थिङले सिन्धुलीका आशा लाग्दा उमेदवारका रुपमा आफुले मनोजजंगलाई लिएको बताउनुभयो । पहिलाको कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ता अहिलेको तुलनामा निकै अनुशासित र निष्ठावान रहेको बताउँदै नेपालमा अब एउटै मात्र कम्युनिष्ट पार्टी रहने र त्यो एमाले मात्रै हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मान कार्यक्रममा प्रतिनिधीसभा सदस्य उमेदवार थापाले सिन्धुलीको कम्युनिष्ट अन्दोलनलाई यहाँसम्म ल्याई पुर्योउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गर्दै थिङलाई भेटन कुसुमटार आएको बताउनुभयो । ‘मैँले उहाँलाई पहिलानैँ भेट्ने योजना बनाएको थिएँ, तर चुनावी अभियानमा व्यस्त भएकाले भ्याएको थिईनँ’, उहाँले सम्वोधनका क्रममा भन्नुभयो । नेता थापाले बयोवृद्ध कम्युनिष्ट नेताले गर्नुभएको योगदानको खुलेर प्रशंसा गर्नुभएको थियो ।

नगरपालिका भएर पनि कुसुमटार विकट बनेको र यहाँका वासिन्दाको जीवनस्तर माथि उठाउन घ्याङलेख जोड्ने सडक निर्माण जरुरी भएको थापाले बताउनुभयो । उहाँले एमालेले जितेपछि यहाँबाट घ्याङलेख जोड्ने सडक निर्माण गर्ने प्रतिवद्धता जनाउँदै कम्युनिष्ट क्रान्तिकारीहरु ओहोरदोहोर गर्ने यस बाटोलाई मोटरबाटोमा रुपान्तरण गर्न एमालेका सरकार जरुरी भएको उल्लेख गर्नुभयो ।

उहाँले यस क्षेत्रमा खानेपानी समस्या विकराल रुपमा रहेको र बृहत खानेपानी योजना सञ्चालन गरेर यो समस्याको समाधन गर्न आफु क्रियाशिल हुने बचन दिनुभएको छ । यहाँका स्थानीय वासिन्दाले वडा कार्यालयसम्म जानकालागि निकै सास्ती व्यहोर्नु परेको बताउँदै इन्जिनियरसमेत रहनुभएका थापाले सडक र खानेपानी समस्या समाधानका लागि पनि एमालेको पक्षमा मनतदान गर्न अपील गर्नुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया