बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

विकास र समृद्धि सिन्धुलीको सपना बाँड्दै उम्मेदवार

आइतवार , कार्तिक २७, २०७९

सिन्धुली –सिन्धुलीका उम्मेदवारले सिन्धुलीको विकास र समृद्धिको सपना लिएर निर्वाचनको मैदानमा उत्रेका छन् । सिन्धुलीमा चुनावी मैदानमा उत्रिएका अधिकांश उम्मेदवारले सार्वजनिक गरेको प्रतिबद्धतापत्रअनुसार सिन्धुलीको विकासका लागि ठूला सडक कालोपत्र गर्ने, विमानस्थल चलाउने, शिक्षा र स्वास्थ्यको विकासमा काम गर्ने र समग्र सिन्धुलीलाई राष्ट्रिय विकाससँग जोड्ने उल्लेख गरेका छन् ।

नेकपा एमालेकोे तर्फबाट जारी भएको प्रतिबद्धतापत्रमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास र संस्थागत विकासका लागि एमालेले जित हासिल गर्नुपर्ने उल्लेख गरिएको छ । प्रतिबद्धतापत्रमा राष्ट्रिय राजनीतिमा सिन्धुलीको आवाजलाई बुलन्द गर्न, अलपत्र विकासका योजना अगाडि बढाउन, सम्मुनत सिन्धुली, सम्मानित सिन्धुलीवासी बनाउनका लागि निर्वाचनमा आएको उल्लेख गरिएको छ ।

प्रतिबद्धतापत्रमा पालिका केन्द्रसम्म पक्की सडक पुर्‍याउने, वडाको केन्द्रसम्म स्तरीय सडक पुर्‍याउने, व्यवसाय सञ्चालनमा युवालाई अनुदानका कार्यक्रम ल्याउने, कृषिमा आत्मनिर्भर गराउने, महत्वपूर्ण पर्यटकीयस्थलको विकास गर्नेलगायत प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

सांसदले संसद्मा नीति बनाउँदै विकासमा सहज बातावरण बनाउने भए पनि जनतासामु विकासको माग धेरै रहेको एमालेबाट सिन्धुली क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मनोज जंग थापाले बताउनुभयो । “संसद्को काम भनेको नीति निर्माण गर्ने हो, विकास निर्माणमा मन्त्रालय छ तर जनताको आवाज विकासमा छ, मैले नै संसद् विकास कोष चाहिँदैन भन्दै हिँडे, अहिले जनतासमक्ष पुग्दा कोष चाहिने रहेछ भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “सिन्धुली विकासमा पछाडि छ, सिन्धुलीको समग्र विकासमा हाम्रो पार्टिको मुख्य भूमिका रहन्छ ।”

उहाँले बस्ती विकास, वैकल्पिक ऊर्जा, खानेपानीको पहुँच, उद्योग, व्यापार र रोजगारीलाई बढी जोड दिइएको बताउनुभयो । उहाँले घोषणापत्रमा ग्रामीण सहरलाई प्रविधिमैत्री बनाइने, सिटीहल निर्माण गरिने, एक पालिका एक बारुणयन्त्र खरिद गर्ने, एक वडा एक सहकारी, घर–घरमा रोजगारी, एक घर एक स्वरोजगार, बजारीकरण, भूमिहीन र सुकुम्बासीसँग हाम्रो स्कल्प सबैको हातमा लालपुर्जालगायतका योजना समावेश गरिएको जानकारी दिनुभयो । थापाले जनतालाई विकाससँग जोड्दै समग्र सिन्धुलीको विकास र समृद्धिका लागि एमालेको जित आवश्यक रहेको बताउँदै आफ्ना एजेण्डासहित निर्वाचनमा होमिएको जानकारी दिनुभयो । एमालेको स्थानीय प्रतिबद्धतापत्रमा सिन्धुलीलाई पर्यटकीय विशेष क्षेत्र बनाउने, जीर्ण सडकको स्तरोन्नति, पालिका जोड्ने सडक कालोपत्र र वडालाई स्तरीय सडक कालोपत्र गर्नेलगायतका योजना सार्वजनिक गरेको छ ।

सत्तागठबन्धको तर्फबाट सार्वजनिक भएको घोषणापत्रमा सिन्धुलीका ठूला योजनाबाटै समृद्धि हासिल गर्न सकिने उल्लेख गरिएको छ । घोषणापत्रमा पर्यटनबाट सिन्धुलीको विकास गर्न सकिने लगाएतका योजना अगाडि सारेका छन् । यस्तै अन्य साना दलले समेत आफ्ना विकासे एजेण्डासहित चुनावी प्रचार–प्रसारमा लागेका छन् । सिन्धुलीमा दुई प्रतिनिधि र चार प्रदेश सांसदको पदमा ४३ जना चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिक्रिया