बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

गीत संगीतमार्फत मतदाता रिझाउँदै सिन्धुलीका उम्मेदवार

शुक्रवार , कार्तिक २५, २०७९

सिन्धुली– मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनाव आउन अब ९ दिन मात्र बाँकी रहेको छ । सिन्धुलीमा अहिले उम्मेदवारहरुले चुनावी प्रचारप्रसार अभियानलाई तीब्र बनाएका छन् । गाउँगाउँमा आयोजित चुनावी सभाहरु संगीतमय बन्दै गएका छन् । उम्मेदवार र राजनीतिक दलका नेताहरुले भने राष्ट्रिय एजेण्डा भन्दा पनि स्थानीय एजेण्डालाई चुनावी मुद्दा बनाएका छन् । गाउँगाउँमा आयोजित आमसभामा उल्लेखनीय जनसहभागिता नभएपछि राजनीतिक दलले सांगीतिक कार्यक्रमहरुमार्फत माहोल बनाउने र मतदाता रिझाउन अनेकन प्रयासहरु गरिरहेका छन् ।

त्यतिले मात्र नपुगेर विद्युतीय सामग्री बनाउन सिन्धुलीका दलहरुको प्रतिस्पर्धा छ । सामाजिक सञ्जालमा लेखिएका सामग्रीमा निर्वाचन आयोगले प्रश्न उठाउन थालेपछि उम्मेदवारहरुले चुनावी गीतमार्फत मतदाताको ध्यान तान्ने प्रयास गरिरहेका छन् ।

मूलधारका राजनीतिक दलदेखि स्वतन्त्रसमेत चुनावी गीत बनाउन तम्सिएका छन् । ती दलको चुनावी सभामा भिडियो सहितका गीत गुञ्जिने गरेका छन् । ठूला राजनीतिक दलले आफ्नै दलका शीर्ष नेताको बखानमा गीत बनाएका छन् । देशमा भएका विकासको जस लिन भाषणमा मात्र होइन, गीतमा समेत तँछामछाड देखिन्छ ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसले इतिहासदेखि बर्तमानसम्मको आत्मरतिमा आफूलाई समेटेको छ । भाषणदेखि आसनसम्म अध्यक्ष केपी शर्मा ओलीमय बनाएको एमालेले शहर शहरमा ओली, गाउँ घरमा ओली भन्दै गीतमा पनि लोलीमा बोली मिलाएको छ । त्यतिमात्र नभएर नागरिकता विधेयक लगायत संसदका बहुचर्चित एजेण्डालाई गीतमा घुसाइएको छ ।

माओवादी केन्द्र पनि के कम, उसले पनि अध्यक्ष पुष्पकमल दाहालको भक्तिगानमा भिडियोसहितको गीत बनाएको छ । गीत आद्योपान्त प्रचण्डलाई देवत्वकरणमा सिध्याइएको छ । अघिल्लो पटक मै पनि एमाले, सही पनि एमाले भन्ने गीत गाएका बद्री पंगेनी यसपटक माओवादीको गीतमा रमाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी गीतमा आम मतदातालाई मतदानको शैली फेर्न आव्हान गरिएको छ ।त्यस्तै सत्ता गठबन्धमा रहेका दलहरुको (बाम लोकतान्त्रिक गठबन्धन) पनि चुनावी गीत सार्वजनिक भएको छ ।

गीत, घोषणापत्र नभई जनताले भने काममा विश्वासको आशा गरेका छन् । चुनावी गीतले चुनाव प्रचार अभियानमा निकै सहयोग पुगेको उम्मेदवारहरुको भनाई छ । उम्मेदवारहरु पनि चुनावी प्रचारमा जाँदा जनमत तान्न गीत संगीतको तालमा नाच्ने गरेका छन् । जनताका कुरा भन्दा पनि आफ्ना नेताको गुनगान गरेर बनाइएका गीत संगीत उम्मेदवारहरुको चुनावी प्रचारको सहारा बनेका छ ।

 

प्रतिक्रिया