बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका युवा भन्छन् ‘भोट हालेर काम खोज्दै विदेश जान नपरोस’

मंगलवार , कार्तिक २२, २०७९

सिन्धुली – कमलामार्य नगरपालिका –५ का शन्तोष कार्की मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलोपटक मतदान गर्ने तयारीमा हुनुहुन्छ ।

मतदानको दिन नजिक आउँदा उम्मेदवारका प्रतिबद्धता विभिन्न देख्नुभएका उहाँलाई युवा विदेश पलायन रोक्ने योजना भइदिए हुन्थ्यो भन्ने लागेको छ । दैनिक सयौँ युवा विदेश पलायन भइरहेका छन् युवालाई स्वदेशमै राख्ने खालको वातावरण बनिदिए हुने थियो उहाँले भन्नुभयो । “मजस्तै धेरै युवा विदेश पलाएन भइरहेका छन्, स्वदेशमा रोजगारीको अवसर भए सायद विदेश जाने थिएनन् होला, राजनीतिक दलले युवालाई देशमै राख्ने वातावरण बनाए हुने थियो”, उहाँले भन्नुभयो, “पहिलोपटक भोट दिने तयारीमा छु, आशा छ जित्नेले युवाका विषयमा केही सोचून्, भोट दिएपछि कामका लागि विदेश जान नपरोस् ।”

राजनीतिक दलहरूले विकासका योजनाअघि सारे रोजगारीका अवसरसमेत सँगै आउने हुँदा यसतर्फ ध्यान दिनुपर्ने पहिलोपटक मत दिन तयार सुनकोशी गाउँपालिका २ का रमेश विकको भनाइ छ । “रोजगारमूलक योजनाअघि सारी युवालाई उत्पादनमा प्रयोग गर्नसके देशको विकास पनि हुने थियो, युवा रोजगारमा जोडिने थिए”, उहाँले भन्नुभयो, “बजेटको उचित सदुपयोग हुने खालका काम भइदिए हुन्थ्यो भन्ने लाग्छ ।”

“मेरो भोटले युवालाई उद्यमशीलतासँग जोड्ने सुनिश्चिता गरोस्, विदेशका खाडीमा पसिना बगाएका स्वदेशमै फर्किएर श्रम गर्ने वातावरण तयार होस् भन्ने लागेको छ”, कमलामाई नगरपालिका २ भद्रकालीका सन्तोष शर्माले भन्नुभयो, “स्वदेशमै अवसर छन्, देश विकासको गतिमा छ, सुशासन कायम छ भन्ने बनोस् ।” राजनीतिक दलले युवाका लागि विस्तृत योजना ल्याउन भने नसकेको उहाँको धारणा छ । ”रोजगार सिर्जना गर्ने, युवालाई उत्पादनमा जोड्ने भन्ने प्रतिबद्धता त देखिन्छ तर त्यसको लागि के गर्ने, कस्ता कार्यक्रमले युवालाई जोड्ने भन्ने कमै हुन्छन्, स्पष्ट योजना आवश्यक छ”, उहाँले भन्नुभयो ।

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिकसमेत गरिरहेका छन् । उम्मेदवारले जिल्लामा औद्योगिक क्षेत्रको स्थापना जोड दिँदै युवालाई रोजगारसँग जोड्ने बताउँदै आएका छन् । कृषि उत्पादनमा युवालाई जोड्ने कतिपय उम्मेदवारले बताइरहँदा स्पष्ट खाका नहुँदा चुनावी नारा मात्रै हो कि भन्ने आशंका लागेको स्थानीय युवा अनिल खडकाले बताउनुभयो ।

नौँ पालिका र ८० वडा रहेको सिन्धुलीमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा कूल जिल्लामा कुल दुई लाख आठ हजार तीन सय ६९ मतदाता रहेका छन् । तीमध्ये एक लाख ७ हजार चार सय १० पुरुष र एक लाख नौ सय ५९ जना महिला मतदाता हुन् ।

जिल्लाको प्रदेशसभा १(क) मा ६८ र प्रदेशसभा १(ख) मा ६९ मतदान केन्द्र गरि क्षेत्र नम्बर १ मा कुल एक सय ३७ मतदान केन्द्र रहेको छ । त्यस्तै, प्रदेशसभा २(क) मा ७६ र प्रदेशसभा २(ख) मा ५४ गरि क्षेत्र नम्बर २ मा कुल एक सय ३० मतदान केन्द्र रहेको छ । जिल्लामा कुल दुई सय ६७ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले बताउनुभयो ।

सिन्धुलीमा छ पदका लागि ४३ ले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई प्रतिनिधिसभातर्फ २१ जना र चार प्रदेशसभा सदस्यकालागि २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो ।

गाउँमै बस्ने वातावरण सिजर्ना गरिदिने माग

यसैगरी सिन्धुलीका मजदुरले रोजगारीकालागि गाउँ छोड्नुपर्ने बाध्यता अन्त्य गर्न माग गरेका छन् । रोजगारीको खोजीमा गाउँ छोडेर सहर पसेका उनीहरू मतदान गर्न आफ्नै गाउँ फर्किने सोचमा छन् । तर निर्वाचित भएपछि पनि आफूहरूलाई गाउँमै बस्ने वातावरण बनाइदिन उनीहरूको माग छ ।

हाल प्रदेश, प्रतिनिधिसभा सदस्यका उम्मेदवार आफ्नो पक्षमा जित हात पार्न विभिन्न आश्वासन दिरहेका छन् । सडक, पानी, बिजुली र पुर्वाधार निर्माणको मुख्य एजेण्डा बनाएर उम्मेदवार मतदाताको घरघर पुगेका छन् । तर मजदुर भने गाउँमै रोजागारीको सिर्जना गर्न सहयोग गर्ने उम्मेदवारलाई मत दिने बताउँदै आएका छन् । कमलामाई नगरपालिका ४ का सविन कार्की कामको सिलसिलामा काठमाडौँ पुग्नुभएको छ । ज्याला मजदुरी गर्ने कार्की गाउँमै काम पाए केहि पैसा बचत हुने बताउनुहुन्छ । “गाउँमा काम पाए केहि पैसा बचत हुन्थ्यो । यहाँ त खाजा, खाना र बस्नका लागि नै कमाएको सबै पैसा सकिन्छ ,” उहाँले भन्नुभयो । उहाँ आगामी मंसिर ४ गते भोट हाल्नका लागि गाउँ आउने तयारीमा हुनुहुन्छ । आफ्नै ठाउँमा रोजगारीको सिर्जना गर्नेलाई भोट दिने उहाँले बताउनुभयो ।

यस्तै, ज्याला मजदुरीको काम गर्दै आउनुभएको सुनकोशी गाउँपालिका २ का रमेश विकले आफुहरुलाई सम्बोधन गर्ने नीति, नियम ल्याउनुपर्ने उहाँले बताउनुभयो । “मेरो यो पटकको मत मजदुरलाई समेट्न सक्ने, स्वदेशमै रोजगारीको व्यवस्था गर्ने योजना बनाएका उम्मेदवारलाई दिने छ ,” उहाँले भन्नुभयो ।

रोजगार र आम्दानी नभएपछि गाउँबाट सहर पसेका श्रमिकलाई मंसिर ४ को चुनावले छोएको छ । तर जुन कारणले उनीहरूले गाउँ छोडे, त्यसको समाधान अहिलेसम्म नभएकोमा भने आक्रोश र निरासा पाइन्छ । सहरका सडकमा निधारमा नाम्लो कसेर गुजारा चलाईरहेकाहरू सकभर गाउँमै फर्किन चाहन्छन् । आफ्नो भोटबाट जितेर आउनेहरूले रोजगारी दिन्छन् भन्ने आशको साथ उनीहरु मत हाल्न गाउँ फर्किदै छन् ।

प्रतिक्रिया