सिन्धुली – सिन्धुलीमा आसन्न निर्वाचन निकै रोचक र पेचिलो हुने संकेत देखिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिएकाले यस पटकको निर्वाचन पेचिलो बन्ने विश्लेषण हुन थालेको हो । चुनावका लागि जिल्लामा उम्मेदवारहरु एक अर्काको भोट बैंक भएका क्षेत्रलाई कब्जा गर्ने रणनीतिसहित चुनावी मैदानमा होमिएका छन् ।
दुवै पक्षका उम्मेदवारले आफ्नो जित निश्चित भएको जिकिर गर्दै आएका छन् । यतिखेर दुवै पक्षका उम्मेदवार गाउँगाउँमा पुगेर आमसभा गरिरहेका छन् मतदाता रिझाउन उम्मेदवारले कुनै कसर बाँकी राखेका छैनन् । विभिन्न पार्टीका र स्वतन्त्र हैसियतमा पनि प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदका लागि उम्मेदवारी दिइएकाले किसानका खेतबारीमा नै पुगेर काम सघाउँदै मतदाता रिझाएर आफ्नो पक्षमा मत दिन उम्मेदवारहरुले आग्रह गरिरहेका छन् तर जिल्लाका का मतदाता यस पटकको निर्वाचनमा निकै सोच विचार गरेर मात्र भोट खसाल्ने मनस्थितिमा पुगेका छन् ।
कुनै पार्टीको ओतमा नओतिइकन राम्रो र इमान्दार उम्मेदवारलाई ठम्याएर मात्र मत दिने मनस्थितिमा रहेको उनीहरुको भनाइ छ । जिल्लाका नाँैवटै स्थानीयतहका मतदातासँग “यसपटक कस्तो उम्मेदवारलाई भोट दिँदै हुनुहुन्छ ?” भन्ने सिन्धुली सौगातको जिज्ञासामा प्रायः सबैले एउटै आशयको जवाफ ‘दिए पर्ख र हेर’ ।
यहाँका मतदातामा कुन पार्टीको कुन उम्मेदवारलाई भोट दिने भन्नेबारे अझै खुल्न सकेका छैनन् । ज्येष्ठ, दलित र महिला मतदाता भने अहिले ‘पर्ख र हेर’को मनस्थितिमा रहेको पाइएको छ । इमान्दार र जनताका लागि काम गर्नसक्ने उम्मेदवारको पक्षमा मत खसाल्न पाका मतदाता इच्छुक देखिएका छन् ।
कमलामाई नगरपालिका–५ का ६२ वर्षीय बाबुराम थापालेले पञ्चायतकालदेखि गणतन्त्रसम्म पटकपटक मतदान गरे पनि आशा गरेजस्तो उपलब्धि प्राप्त नभएको बताउनुभयो । “चुनावमा भोट हालेर नेतालाई त जितायौँ तर ती नेताले हाम्रो मन जित्ने गरी कामै गरेनन”, चुनावअघि र चुनाव जितेपछि नेताको बोली र व्यवहारमा परिवर्तन आउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “भोट नदिऊ भने पनि बल्लबल्ल आउने मौका गुमाउनुभएन, दिऊ भने पनि मनले खाएको योग्य व्यक्ति कोही हुँदैनन् । त्यसैले कसलाई भोट दिने भनेर अहिलेसम्म निधो गर्नै सकिएको छैन ।”
यसैगरी कमलामाई नगरपालिकाका –४का रामकृष्ण पोखरेलले अहिलेको चुनावमा यो पार्टी र त्यो पार्टी नभनी इमान्दार र ‘भिजनेवल’ उम्मेदवारलाई हेरेर भोट दिने बताउनुभयो । “हिलेसम्म ठ्याक्क यसैलाई दिन्छु भनेर निधो गरिसकेको छैन तर पार्टी नहेरिकन अलि राम्रो र इमान्दार उम्मेदवारलाई भोट दिने मनस्थितिमा हामी छौ”ँ, उहाँले भन्नुभयो । पोखरेलले सबै पार्टीका उम्मेदवारको प्रतिबद्धतापत्र र पार्टीका घोषणापत्र पढेर, उम्मेदवारसँग प्रत्यक्ष कुराकानी गरेर र उनीहरुको क्षमता बुझेर मात्र अहिलेको निर्वाचनमा भोट दिने बताउनुभयो ।
कपिलाकोट गाउँपालिका–६ का रामबहादुर कार्कीले यसअघिका निर्वाचनमा भाग लिएका उम्मेदवारले विभिन्न आश्वासन बाँडे पनि जितेर गएकाले वाचा गरेअनुसारको काम नगरेको गुनासो गर्नुभयो । उहाँले उम्मेदवारले गुलियो आश्वासन बाँड्नुभन्दा पनि आफूले गर्नसक्ने काममा मात्र मतदातालाई आश्वस्तपार्नुपर्ने बताउनुभयो । जितेर जानेले जनताको मन बुझेर आ–आफ्नो क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले मत भने कसलाई दिने भनेर अझै निक्र्योल गरिनसकेको बताउनुभयो ।