सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने ‘पुकार’ लाई जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले स्पष्टिकरण मागेको छ । निर्वाचन आचारसंहिता विपरित काम गरेको भन्दै निर्वाचन कार्यालय सिन्धुलीले पुुकारलाई स्पष्टिकरण मागेको हो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा उपाध्यक्ष पुकारले आफ्नो फेसबुक पेजबाट राजनितिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार सामाग्री सेयर गरेको साथै भोट मागेको भन्दै लिखित स्पष्टिकरण मागेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले विहिबार एक सुचना निकाल्दै जानकारी दिएको छ ।
बुधबार मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा बसेको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय अनुसार उपाध्यक्ष पुकारलाई लिखित स्पष्टिकरणको माग गर्ने निर्णय गरेको सुचनामा उल्लेख गरिएको छ ।
निर्वाचन आयोगले निर्वाचन आचासहिंता २०७९ को दर्फा ४६ तथा निर्वाचन आयोग ऐन २०७३ दर्फा २३ अनुसार कारबाहि गर्न किन नपर्ने ? भन्दै स्पष्टिकरणको माग गरेको हो । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समक्ष उपाध्यक्ष पुकार स्वयम उपस्थिति भइ स्पष्टिकरण पेस गर्न आग्रह गरिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको आचारसंहिता उल्लघन गर्ने मध्ये उपाध्यक्ष पुकार निर्वाचन कार्यालयबाट स्पष्टिकरण मागिएको पहिलो व्यक्ति हुन् । उपाध्यक्ष पुकार नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुहुन्छ ।
