सिन्धुली– लडेकाजति कुनै चुनाव नहारर्नु भएका नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले यसपाली टिकट नै पाउनु भएन् । सिन्धुलीबाट २०७० र २०७४ का दुई चुनाव जित्नु भएका गजुरेल फेरि पनि चुनाव लड्न चाहनु हुन्थ्यो तर हाललाई उहाँको संसदीय राजनीतिको यात्रामा ‘ब्रेक’ लागेको छ ।
यसबाट असन्तुष्ट बन्नु भएका गजुरेलले भने आफूले टिकट नपाउनुको स्पष्ट कारण नदिएसम्म चुनावी गतिविधिमा सहभागी नहुने अडान लिनु भएको छ । स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म गजुरेल र जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)को नाम सिफारिस भएको थियो । तर, अन्तिममा टिकट भने राजनले नै पाउनु भयो ।
गजुरेलले जिल्लाबाटै आफूलाई जबरजस्ती रोक्न खोजेकोरुपमा बुझ्नु भएको छ । “उहाँविरुद्ध नांगो गुटबन्दी भयो,” गजुरेल निकट एक नेता भने, “गाउँपालिकाका नेताहरुलाई थर्काएर एउटा मात्रै नाम सिफारिस गर भनेर रोक्न खोजे ।”
टिकट पाएर चुनावको प्रचारमा जुटिसक्नु भएका दाहाल भने यसलाई स्वीकार गर्नु हुन्न । आफूले टिकट समेत नमागेको उहाँको दाबी छ । “टिकटका लागि मैले कुनै पनि पार्टी कमिटीमा दाबी गरेको छैन,” दाहालले भन्नु भयो, “न हरिबोलजीलाई, न अध्यक्षलाई मैले मलाई टिकट दिनुपर्यो, म आकांक्षी छु भनेको छु । पार्टी केन्द्रले टिकट दिएपछि लडेको हो ।”
गुटबन्दी गरेको भन्ने गजुरेल निकट नेताहरुले लगाएको आरोपको पनि दाहाल प्रतिवाद गर्नु हुन्छ । “कुनै गुटबन्दी भएको होइन,” उहाँले भन्नुभयो, “नौं वटै पालिकाले उहाँकै उपस्थितिमा स्वतन्त्र निर्णय गरेका छन् । शतप्रतिशत कार्यकर्ताको भनाइ यो पटक उहाँले छोडिदिनुपर्छ भन्ने थियो ।”
कसरी पाए दाहालले टिकट ?
गजुरेल माओवादी केन्द्रका पुराना नेता हुनुहुन्छ । पार्टी उपमहासचिव समेत रहेनु भएका गजुरेल समेत आकांक्षी हुँदाहुँदै पनि टिकट भने दाहालले फुत्काउनु भयो । दाहालको नाम जिल्लाका ९ वटै पालिका, दुई वटै निर्वाचन क्षेत्र र जिल्ला कमिटी हुँदै प्रदेशबाट केन्द्रमा पुगेकाले टिकट पाएको बताउँनु हुन्छ माओवादी केन्द्र सिन्धुलीका नेता गणेश रत्न ।
जिल्लाको संगठन विभाग प्रमुख समेत रहनु भएका रत्नले जिल्लामा खटिरहने र प्रत्येक कार्यकर्ताको दुःख, सुखमा नजिक रहने भएकाले सबै कार्यकर्ताबाट दाहाललाई समर्थन मिलेको दाबी गर्नु भयो । “उहाँ प्रत्येक कार्यकर्ताको दुःख–सुखमा सधैं सँगै हुनुहुन्छ,” रत्नले भन्नुभयो, “उहाँ सधैं भूगोलमै रहनुहुन्छ । उहाँ केन्द्रमा जाने भनेको बैठकका निम्ति मात्रै हो । बागमती प्रदेशसभा सदस्य हुँदा पनि उहाँले अर्बौंको बजेट ल्याएर विकासका निम्ति प्रेरणादायी काम गर्नुभयो ।”
“यसले गर्दा पार्टी कमिटी र जनसमुदाय लाभान्वित भए,” रत्नले थप्नु भयो, “कार्यकर्ता र जनताको दबावले गर्दा उहाँलाई सिफारिस गर्न पार्टी कमिटी बाध्य भयो । प्रदेश हुँदै केन्द्रसम्म स्वीकृत भएपछि अध्यक्ष प्रचण्डले पनि त्यसलाई स्वीकृत गर्नुभयो ।”
कोरोनाका संक्रमणका बेला आइसोलेसन भवन निर्माण र जिल्ला पार्टी कार्यालय निर्माणमा समेत दाहालकै पहल मुख्य भएको उहाँले बताउनु भयो ।
प्रचण्डलाई बाध्य पार्ने त्यो ‘डेलिगेशन’
जिल्लाबाट दाहाललाई टिकट दिन दबाव दिने उद्देश्यले सिन्धुलीका माओवादी नेता–कार्यकर्ताहरु दुईपटक ‘डेलिगेशन’ नै गएका थिए ।
दोस्रो पटक १५ असोजमा सिन्धुलीबाट आएको डेलिगेशनले दाहाललाई नै टिकट दिने अवस्थामा प्रचण्डलाई पु¥याएको थियो । जिल्लाका ९ वटै पालिकाका इन्चार्ज, अध्यक्ष, ७ जना स्थानीय जनप्रतिनिधिहरु प्रचण्ड निवास पुगेका थिए ।
रत्नका अनुसार हरिबोललाई अन्तै व्यवस्थापन गरेर राजन दाहाललाई प्रतिनिधिसभाको टिकट दिन दबाव दिइएको थियो । “उहाँ उपमहासचिव हुनुहुन्छ, उहाँलाई बायस गरेर होइन कि अन्त व्यवस्थापन गर्नुहोस्, भनेका थियौं,” उहाँले भन्नु भयो ।
त्यसपछि प्रचण्डले जिल्लाका सबै नेताहरु सामुन्ने दाहालले टिकट पाउने संकेत गर्नु भएको थियो । “तपाईंहरु जिल्ला नै उल्टिएर आउनु भएको रहेछ,” प्रचण्डको भनाइ थियो, “तपाईंहरु जुन उद्देश्यका साथ आउनु भएको छ, त्यो मैले बुझें । यसको तपाईंले सकारात्मक जवाफ पाउनुहुन्छ ।”
प्रचण्डको संकेतपछि डेलिगेशनमा आएको जिल्लाको टोली ढुक्क भएर जिल्ला फर्किएको थियो । र, संकेत अनुसारै प्रचण्डले टिकट पनि राजनलाई नै दिनु भयो ।
गजुरेलले जनाए असहमति
यसबाट गजुरेल भने असन्तुष्ट बन्नु भएको छ । यसबारे सार्वजनिक प्रतिक्रिया नदिएका गजुरेलले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई असहमति पत्र दर्ता गराउनु भएको छ ।
माओवादी स्रोतका अनुसार गजुरेलले आफ्ना सहयोगीमार्फत पार्टी कार्यालय परिसडाँडा र ‘प्रचण्ड’ निवासमा असहमति पत्र दर्ता गराउनु भएको हो ।
पत्रमा गजुरेलले आफूलाई टिकट नदिनुको कारणबारे पदाधिकारीमा छलफल गर्नुपर्ने माग गर्नु भएको छ । आफूलाई टिकट नदिइएकोबारे स्पष्ट कुरा बताउनुपर्ने उहाँले पत्रमा उल्लेख गर्नु भएको छ ।
टिकट नदिनुको कारणबारे स्पष्ट जवाफ नदिएसम्म आफू जिल्लाको चुनावी कार्यक्रममा सहभागी नहुने अडानमा गजुरेल हुनु हुन्छ ।