बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

जनतालाई झुट्ठा आश्वासन नबाँढ्न एमाले उम्मेदवार थापाको आग्रह

बुधवार , आश्विन २६, २०७९

सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट सिन्धुली क्षेत्र नं. २ को प्रतिनिधीसभा सदस्य उम्मेदवार मनोजजंग थापाले स्थानीय पार्टी कमिटीमा आवद्ध नेता कार्यकर्ताहरुलाई निर्वाचनका बेला झुट्ठा आश्वासन नबाँढ्न र जनताको मन नदुखाउन सुझाब दिनुभएको छ ।

मरिण गाउँपालिकाको विभिन्न वडा कमिटीहरुको बैठकलाई प्रमुख अतिथीका रुपमा सम्वोधनगर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । उहाँले सत्यसँग झुक्ने र असत्यहरुसँग कहिल्यै नझुक्ने बताउनुभयो । “अहिले जनताको घर दैलोमा पुगेर असत्य कुरा गर्नेहरुको लर्को आउँदैछ, उनीहरुको भण्डाफोर गर्नु पर्छ । हामी जनतालाई कहिल्यै झुक्याउँदैनौं र झुक्किदैनौं पनि, हामी जे बोल्छौं, त्यो गरेर देखाउँछौं, विगतमा मरिण क्षेत्रबाट थुप्रै जितेर गए, तर उनीहरुलाई मरिण क्षेत्रका जनतालाई पटक पटक झुक्याए, यस पटक उहाँहरु झुक्किनुहुन्न । यहाँबाट जितेर गएकाहरु सांसदहरु मन्त्री पनि भए तर यस क्षेत्रको विकासका लागि उनीहरुले कहिल्यै पनि चासो दिएनन्,” उहाँले भन्नुभयो ।

केपि ओलीको सरकारले गरेका सम्पूर्ण योजना तथा बाचा पुरा गरेको उहाँले बताउनुभयो । “केपी ओलीले भारतले गरेको नाकाबन्दीको प्रतिरोध गरेपछि त्यसैबेला घोषणा गर्नुभएको थियो, पूर्व पश्चिम राजमार्ग बनाउने भनेर । उहाँले जे बोल्नुभयो, त्यो मदन भण्डारी राजमार्ग र सुनकोशी मरिण डाइभर्सन बनाएर बोलेको कुरा पुरा गर्नुभयो ,” उहाँले भन्नुभयो।

थापाले असत्यसँग नझुक्ने सँधै सत्यको पक्षमा निरन्तर लागिरहने एमालेका उम्मेदवारलाई विजयी गराउनका लागि पार्टीका काम कारबाही अगाडि बढाउन निर्देशन पनि दिनुभयो । केपी ओलीकै पालामा राजमार्ग र सुनकोशी मरिण डाइभर्सनको काम भयो, भारतीय नाकाबन्दीको डटेर सामाना गरियो, तर गठबन्धन सरकारले भारतीय स्वार्थ अनुसार नागरिकता विधेयक ल्याएर नेपाली जनामाथि घात गरेको बताउनुभयो ।

मरिण क्षेत्रका जनताले पुराना होइन, अब नयाँ अनुहार चाहिरहेको बताउँदै माओवादी भित्रको उम्मेदवार प्रकरणमा देखिएको रोइलोले त्यसलाई पुष्टि गरेको उल्लेख गर्नुभयो । मरिण क्षेत्रको समग्र विकासका लागि पाँच प को अबधारणा प्रस्तुतगर्दै उम्मेदवार थापाले जनताको तहसम्म विगतमा भएका कमी कमजोरीहरु सार्वजनिक गर्न जरुरी भएको औंल्याउनुभयो ।

यस्तै, सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप कटुवालले दुधौली नगरपालिकाका बिभिन्न वडा कमिटी बैठकमा मंसिर ४ गतेपछि पूर्वबाटै सूर्य उदाउने बताउनुभयो । उहाँले निर्वाचनका क्रममा पालिका कमिटी र बुथ कमिटीले गर्नुपर्ने कामहरुका वारेमा प्रष्टपार्दै असत्यहरुसँग लड्ने र सत्यसँग झुक्ने पार्टी एमाले मात्रै रहेको बताउनुभयो ।

 

प्रतिक्रिया