सिन्धुली– सवारी साधन अनुमती पत्रको लागि अन्य व्यक्तिको नाममा ट्रायल दिने सिन्धुलीका तीनजना सहित पाँचजनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपलिका वडा नं. ५ राधे राधे स्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न हुँदै आईरहेका उनीहरूलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरेर बिहिबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिकाका तीनजना रहेको भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) राजु पाण्डेले जानकारी दिनुभयो । पक्राउ पर्नेमा वडा नम्बर ११ टाँडी घर भई हाल काठमाडौँको चाबहिल बस्ने २० वर्षीय मनिष श्रेष्ठ,े वडा नम्बर ४ स्थायी ठेगाना भई हाल तिनकुने काठमाडौँ बस्ने २० वर्षीया मनिष लामिछाने र वडा नम्बर १४ स्थायी ठेगाना भएका हाल भक्तपुरको कटुञ्जे बस्ने वर्ष २१ को टुल्कु सिंह तामाङ रहेका छन् । त्यसैगरि, गोरखाको भिमसेन स्थान गाउपालिका–१ घर भई हाल कटुञ्जे नै बस्ने वर्ष २२ वर्षिया राज कुमार श्रीमल र कालिकोटको महाबई गाउपालिका–१ घर भई हाल कटुञ्जे भक्तपुर बस्ने वर्ष २४ को ईन्द्र बहादुर शाहीपनि पक्राउ परेका छन् ।
उनीहरूबाट नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईल बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई ‘लिखत सम्बन्धि कसुर’ मा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको डिएसपी पाण्डेले बताउनुभयो ।