बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा चुनावी माहोल गर्मायो

मंगलवार , भाद्र १४, २०७९

सिन्धुली – आसन्न संघ र प्रदेशको निर्वाचन आउन अब करिब साढे तीन महिना बाँकी रहँदा सिन्धुलीमामा विभिन्न राजनीतिक दलको चुनाव केन्द्रित चहलपहल सुरु हुन थालेको छ । मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनलाई लक्षित गर्दै जिल्लाका राजनीतिक दल चुनाव केन्द्रित भेला, छलफल र गोष्ठीजस्ता गतिविधि सञ्चालन गर्न थालेका छन् ।

चुनावको तयारीका लागि जिल्लाका सक्रिय राजनीतिक दलका नेताहरु कार्यकर्ता तथा सिन्धुलीमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका उम्मेदवारले पनि मतदाताको अपेक्षा बुझ्नका लागि गाउँ पसेका छन् । काँग्रेसले गत शुक्रबारदेखि ‘जनताको साथमा काँग्रेस’ नामक एकमहिने अभियान सञ्चालन गरेको छ । जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकर्ता भेला, संगठन सुदृढीकरण, भ्रातृसंस्था र शुभेच्छुक संस्थाको तयारीसहित रणनीति निर्माणलगायत कार्यक्रम सकेर ‘जनताको साथमा काँग्रेस’ अभियानलाई तीव्रता दिइएको जिल्ला कार्य समितिका सचिव ईश्वर बस्नेतले जानकारी दिनुभयो ।

जिल्ला सभापति उपेन्द्र पोखरेलले आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसलाई पहिलो दल बनाउन पार्टी पंक्तिलाई चुस्तरुपमा परिचालन गर्ने बताउनुभयो । निर्वाचनमा पालिकास्तरीय, वडास्तरीय र गाउँटोलस्तरीय चुनावी अभियानको तयारीमा जुट्न उहाँले निर्देशन दिनुभएको छ । वर्तमान सरकारले गरेका कामको प्रचारप्रसार, पार्टीको नीति ,विचार, सिद्धान्त तथा कार्यक्रमका बारेमा सबै नागरिकलाई बुझाउन आवश्यक रहेकाले यो अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

नेकपा (एमाले)ले निर्वाचनलाई लक्षित गरेर एक महिने अभियान अन्तर्गत सिन्धुली जिल्लाका वडादेखि जिल्ला स्तरका भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरी निर्वाचन क्षेत्रस्तरीय भेला बैठक गरिरहेको छ । एमालेले पार्टी अभियान र निर्वाचन लक्षित रणनीतिक योजनासहित पार्टीका सबै तहका नेता कार्यकार्ताहरुलाई क्रियाशील बनाउन निर्देशन समेत दिएको छ । एमालेका जिल्लाअध्यक्ष कुमार बहादुर कार्की (रामकुमार) ले गत साउन महिनामा जिल्लाका सबै नौँवटा स्थानीय तहमा अगुवा कार्यकर्तालाई प्रशिक्षण सञ्चालन भइसकेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)ले जिल्ला समन्वय समितिको बैठक बसेर संगठन सुदृढीकरण अभियान सुरु गरेको छ । माओवादीले निर्वाचनलाई लक्षित गरी सिन्धुली जिल्लामा पार्टीका आन्तरिक भेला बैठक जस्ता कार्यक्रमलाई तीव्रता दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलेपनिे प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अभियान सुरु गरेको छ ।

जिल्लामा प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि ४ वटा निर्वाचन क्षेत्र छन् । गत २०७४ को चुनावमा प्रतिनिधिसभामा सिन्धुली क्षेत्र नं.१ वाट एमालेका गणेश प्रसाद पाहाडी, प्रदेशसभा क्षेत्र (क)मा माओवादीका लेखनाथ दाहाल‘राजन’ र क्षेत्र (ख)मा एमालेको प्रदिप कटुवाल विजयी हुनुभएको थियो भने क्षेत्र नं.२ वाट माओबादीका हरिवोल गजुरेल, प्रदेशसभा क्षेत्र (क)मा एमालेका बिनोद खडका र क्षेत्र (ख)मा माओवादीको बशन्त माझी विजयी हुनुभएको थियो ।

यसपटकको निर्वाचनमा उम्मेदवारका आकांक्षी बढेका भए पनि मतदाता तथा कार्यकर्ताको मनोभावना, बुझेर उम्मेदवार चयन गर्ने नेताहरुको भनाइ छ । विगतको अनुभव, सफलता र कमजोरी पहिचान गरेर चुनाव जित्ने रणनीति बनाउने दलका नेताहरुले बताएका छन् ।

गत स्थानीय तह चुनावमा सिन्धुलीमा माओवादी केन्द्रले चार पालिका प्रमुख, तीन उपप्रमुख र २५ वडा, काँग्रेसले तिन पालिका प्रमुख, चार उपप्रमुख, २९ वडा र एमालेले दुई प्रमुख,दुई उप प्रमुख र २५ वडा जितेका थिए ।

गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि राजनीतिक दलका नेताहरु गाउँ पसेपछि बढ्न थालेको छ । प्रशिक्षण र भेटघाटका कार्यक्रम बनाएर नेता कार्यकर्ता गाउँ पसेका छन् ।

यसपटकको निर्वाचनमा जनताका अपेक्षा पनि बुझेर उम्मेदवार छनोट गर्ने मनस्थितिमा दलहरु देखिन्छन् । स्वच्छ छविको व्यक्तिले निर्वाचनमा टिकट पाउनुपर्छ, नेताहरूको वरिपरि घुम्नेभन्दा पनि जनतामाझ लोकप्रिय उम्मेदवार हुनुपर्छ, विकासप्रेमी र सुशासन कायम गर्ने व्यक्ति, जनभावना बुझ्ने र गाउँ केन्द्रित हुने खालको उम्मेदवार पहिचान गरेर भोट दिने मनस्थितिमा सिन्धुलीका जनता रहेका छन् ।

यता निर्वाचन कार्यालय सिन्धुलीले आगामी निर्वाचनका लागि १ सय ४४ मध्ये अझै ७ वटा मतदानस्थल र ४ वटा मतदान केन्द्र थप्न निर्वाचन आयोग समक्ष सिफारिस गरिएको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीबाट सिफारिस गरिएको मतदानस्थल र केन्द्र कायम भई आएमा अब मतदानस्थल १ सय ५१ वटा र मतदानकेन्द्र २ सय ७२ वटा हुनेछन् ।

प्रतिक्रिया