बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

‘जनताका साथमा काँग्रेस’ अभियान सिन्धुलीमा सुरु

शुक्रवार , भाद्र १०, २०७९

सिन्धुली, – नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लागि शुक्रवारदेखि सिन्धुली लगाएत मुलुकभर एकसाथ ‘जनताको साथमा काँग्रेस’ अभियान प्रारम्भ गरेको छ ।

अभियानको पहिलो चरण शुक्रवार भदौ १० गतेदेखि बिपी जन्मजयन्ती भदौ २४ गतेसम्म सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने काँग्रेसले जनाएका छ ।

अभियान अन्तर्गत सिन्धुलीमा शुक्रवार एक कार्यक्रमका बिच अभियानको उद्धघाटन गरिएको छ । नेपाली काँग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोखरेलको सभापतीत्व तथा अभियानका लागि सिन्धुलीमा खटिनुभएको जिल्ला प्रतिनिधी तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रीनको प्रमुख आतिथ्यतामा अभियानको उदघाटन गरिएको हो ।

‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत सिन्धुलीको २ वटै निर्वाचन क्षेत्रमा कार्यक्रम गरिने नेपाली काँग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १७ गते क्षेत्र नं. १ अन्तर्गत फिक्कल गाउँपालिकामा नेपाली काँग्रेसका नेता कार्यकर्ता हरुको लागि प्रशिक्षण कार्यक्रमको उद्धघाटन गरिने र १८ गते क्षेत्र नं. २ अन्तर्गत मरिण गाउँपालिकामा अन्तरक्रिया तथा भेला कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै पार्टी कमिटिको बैठक बसी सिन्धुली जिल्लाको ७९ वटै वडामा पार्टीको प्रतिनिधी खटाई भेला गर्ने कार्यक्रम समेत तय भएको सभापति पोखरेलले जानकारी दिनुभयो ।

अभियानको मुख्यरुपमा चार उद्देश्य रहेका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य छ ।

यसैगरी जनताको घर आँगनमा पुग्ने, काँग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढंगले अन्तक्र्रिया गर्ने उद्देश्य रहेको पोखरेलले बताउनुभयो ।

काँग्रेसले लिएको नीति, काँग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा काँग्रेसले लिएका अडानबारे जनतालाई सुसूचित गर्ने र निर्वाचनमा काँग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने तथा निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने अभियानको उद्देश्य छ ।

प्रतिक्रिया