सिन्धुली – आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सिन्धुलीमा चुनावी चहलपहल सुरू भएको छ । राजनीतिक दलहरूले चुनाव केन्द्रित गतिविधि सञ्चालन गर्न थालेका छन् भने स्वतन्त्र उम्मेदवारको घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ । 2 प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरूले चुनाव केन्द्रित अभियानसहित सक्रियता देखाउन थालेका छन् ।
निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले)ले एक महिने अभियानअन्तर्गत वडादेखि जिल्लास्तरका भेला तथा प्रशिक्षण कार्यक्रम सकेर निर्वाचन क्षेत्रस्तरीय भेला बैठक गरिरहेको पार्टी अध्यक्ष रामकुमार कार्किले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी अभियान र निर्वाचन लक्षित योजनासहित पार्टीका सबै तहलाई क्रियाशील बनाउन निर्देशन गरिएको छ । जनता समाजवादी पार्टीले निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ ।
आसन्न निर्वाचनलाई मध्यनजर गरेर नेपाली काँग्रेसले आन्तरिक तयारी गरिरहेको जिल्ला सभापति उपेन्द्र पोखरेलले बताउनुभयो । उहाँले अन्य दलसँग गठबन्धन भए पनि नभए पनि काँग्रेसले निर्वाचन केन्द्रित आफ्नो आन्तरिक तयारी गरेको उल्लेख गर्नुभयो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुलीमा उम्मेदवारी घोषणा गरेका स्वतन्त्र उम्मेदवारले पनि आफ्नो चुनावी अभियान सुरु गरेका छन् ।
मतदानस्थल र केन्द्र थप हुने
यसैबिच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचनलाई लक्षित गरी सिन्धुली जिल्लामा मतदानस्थल र मतदान केन्द्र थप गर्ने तयारी गरिएको छ ।
निर्बाचन कार्यालय सिन्धुलीले आगामी उक्त निर्बाचनका लागि सात वटा मतदानस्थल र चार वटा मतदान केन्द्र थप्न निर्बाचन आयोग समक्ष सिफारिस गरिएको जनाएको छ । कार्यालयका अनुसार २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनमा जिल्लामा २६८ वटा मतदानस्थल र १४४ वटा मतदान केन्द्र रहेका थिए ।
सिफारिस गरिएको मतदानस्थल र केन्द्र कायम भई आएमा अब मतदानस्थल १५१ वटा र मतदानकेन्द्र २७२ वटा हुने कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिनुभयो । उहाँका अनुसार थपिएका मतदान केन्द्रहरुमा गोलन्जोर गाँउपालिका–१ स्थित कामदा मावि डुडभन्ज्याङलाई फुटाएर प्रावि च्याकुटारमा अर्को केन्द्र बनाईएको छ । त्यस्तै गोलन्जोर गाँउपालिका–४ स्थित प्रावि बितिजोर कुभिण्डेलाई फुटाएर बत्सला मावि दिङदिङ किराँतेमा अर्को केन्द्र बनाईएको छ ।
सुनकोसी गाँउपालिका–४ स्थित मावि कोटगाँउ केन्द्रलाई फुटाएर कपिलेश्वर आधारभुत विद्यालय ढुङगेचौरमा अर्को केन्द्र कायम गरिएको छ । मरिण गाँउपालिका–७ स्थित मावि खयरसाल केन्द्रलाई फुटाएर मिलिजुली आधारभुत विद्यालय साहनामा केन्द्र कायम गरिएको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो ।
तीन वटा केन्द्रलाई पुर्णरुपमा खारेज गरि नजिक ठाँउ सार्न निर्बाचन आयोग समक्ष सिफारिस भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कमलामाई नगरपालिका–१४ स्थित वन कार्यालय रानीबास मतदानस्थललाई खारेज गरी जनता मावि चन्दनपुरमा सार्न आयोग समक्ष सिफारिस गरिएको छ । त्यस्तै मरिण गाँउपालिका–५ स्थित आधारभुत विद्यालय घाटा मतदानस्थललाई खारेज गरी पञ्चकन्या आधारभुत विद्यालय घलानचौरमा सार्न आयोगमा सिफारिस गरिएको छ ।
मरिण गाँउपालिका–७ स्थित आधारभुत विद्यालय बाह्रबिसेको दुबै केन्द्रलाई खारेज गरी कपिलाकोट मावि छाप महेश्वता र गौरीशंकर मावि जयमंगलमा सार्न आयोग समक्ष सिफारिस गरिएको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो ।