सिन्धुली– झण्डै १ करोड ६९ लाख रुपैयाँमा सिन्धुलीमाढीमा निर्माण गरिएको कोभिड अस्पताल प्रयोगविहिन अवस्थामा रहेको छ । प्रदेश सरकार, स्थानीय राजनीतिक दल, निर्माण व्यवसायी, विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सक्रियतामा कमलामाई नगरपालिका ६ स्थित शिवनगरमा निर्माण गरिएको आइसोलेसन भवन एक वर्षदेखि प्रयोगमा आएको छैन ।
कोरोना संक्रमितको उपचारका लागि बनाइएको ५० वेडको आइसोलेसन भवन प्रयोग विहिन बनेको हो । ०७७ असोजमा संचालनमा आएको कोभिड अस्पताल एकवर्ष नबित्दै बजेट अभावमा लामो समय बन्द रहेको थियो । बजेट अभावमा स्वास्थ्यकर्मीलाई निरन्तरता दिन नसकेपछि अस्पताल बन्द भएको हो । अस्पतालमा प्रयोगमा नआउँदा भवन भित्रका विभिन्न उपकरणहरुमा खिया लाग्न थालेको सिन्धुली अस्पतालका एक चिकित्सकले बताएका छन् । “विभिन्न मेसिनहरु प्रयोग नगरिएकाले खिया लाग्न थालेको छ । लाखौँ लागतमा ल्याएका उपकरण विग्रन थालेको छ", उहाँले भन्नुभयो ।
जिल्ला अस्पतालअन्तर्गत संचालित कोभिड अस्पताललाई प्रयोगमा ल्याउनुपर्ने स्थानियले बताएका छन् । निर्माणाधिन जिल्ला अस्पताल सिन्धुलीमा पर्याप्त कोठा नभएको र कोभिड अस्पताल रित्तै भएकाले जिल्ला अस्पतालको सेवा प्रवाह कोभिड अस्पतालबाट हुनुपर्ने स्थानिय सुमन मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला अस्पताल सिन्धुलीमा साँघुरो कोठा भएकाले बिरामीलाई कोचिकोचि उपचार गरिएको छ । रित्तै रहेको कोभिड अस्पतालबाट सेवा प्रवाह गर्नेतर्फ कसैले भेउ नपाउनु अचम्म हो ।,” जिल्ला अस्पताल सिन्धुलीले अस्थायी संरचनाबाट सेवा प्रवाह गरिरहेको हुँदा कोठाहरु पर्याप्त छैनन् । साँघुरो कोठा हुँदा चिकित्सकलाई दैनिक कामकाज संचालन गर्न हम्मे हुने गरेको छ ।
गत साउन महिनाबाट सरकारले ७ वटै प्रदेशहरुमा कोरोना संक्रमितकालागि अस्पतालहरु छुट्टयाई निःशुल्क उपचारको व्यवस्था गरेसँगै जिल्ला अस्पताल सिन्धुलीको व्यवस्थापन समिति निर्धक्क भएर बसेको छ । कोभिडका बिरामीको उपचार अनेत्र हुनेभएपछि रित्तै रहेको अस्पतालबाट सेवा प्रवाह गर्नतर्फ कसैको ध्यान गएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बागमती प्रदेशका संक्रमितको निःशुल्क उपचारकालागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, चितवनको भरतपुर अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल र पाटन अस्पताल छुट्याएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेलका अनुसार मन्त्रालयले कोभिड १९ उपचार तथा व्यवस्थापनका लागि सञ्चालनमा आएका कोभिड १९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिको लागि साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराउने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले संक्रमितको उपचारकालागि अस्पताल छुट्याएको छ । सिन्धुलीको कोभिड अस्पताल संचालनमा ल्याउन आवश्यक छैन ।’
कोभिडको उपचार अनेत्रनै हुनेभएपछि जिल्ल अस्पताल सिन्धुलीको सेवा कोभिड अस्पतालबाट हुनुपर्ने कमलामाई नगरपालिका ५ कि ग्रेसा खड्काले बताउनुभयो । ‘अस्पतालमा पर्याप्त कोठा नहुँदा साँघुरो कोठाबाट सेवा प्रवाह भइरहेको छ । ५० बेडको अस्पताल भने रित्तै छ ।’ उहाँले भन्नुभयो, ‘लासामा सुन छ, कान मेरो रित्तै भने जस्तै भएको छ ।’
निर्माणाधिन अस्पतालमा सामाग्री यत्रतत्र: अस्पताल क्षेत्रमा निर्माण सामाग्री जथाभावि राख्दा बिरामी र चिकित्सकलाई सास्ती भएको छ । बालुवा, रड लगायत अन्य निर्माण सामाग्री अस्थायी संरचनाको क्षेत्रमा यत्रतत्र राख्दा बिरामीलाई ओहोरदोहोर गर्न समस्या परेको गुनासो आइरहेको छ । हनुमान कन्स्ट्रक्सनले निर्माण गरिरहेको अस्पताल क्षेत्रमा जथाभावि निर्माण सामाग्री राख्दा अशक्त बिरामीलाई उपचार कक्षसम्म पुग्नै मुश्किल भएको अशक्त बिरामीले गुनासो गरेका छन् ।

असुरक्षित निर्माणस्थल: २१ करोड ७० लाख २५ हजार ४९९ रुपैँया लागतमा २०७९ असोजमा निर्माण सम्पन्न गर्नेगरि सम्झौता भएको निर्माणस्थलमा निर्माण व्यवसायीले सुरक्षासम्बन्धि उपकरण उपलब्ध गराएका छैनन् । श्रम ऐन २०७४ को दफा ६८–६९ को व्यवस्था अनुसार श्रमिक र कार्यस्थल सुरक्षाको जिम्मा सम्बन्धित रोजगारदाता वा व्यवसायीको हो । श्रम ऐनमा रोजगारदाताले निर्माणस्थलको सुरक्षा र स्वास्थ्य कसरी व्यवस्थित बनाउने भनी उल्लेख गरिएको छ । रोजगारदाताले आफै नियमावली बनाई सुरक्षा व्यवस्था मजबुत गर्नसक्ने प्रावधान पनि ऐनमा छ । ऐन अनुसार रोजगारदाताले हरेक कार्यालय वा निर्माणस्थलमा सुरक्षा जिम्मेवार व्यक्ति तोक्नुपर्छ । तर, निर्माण व्यवसायीले श्रमिकको सुरक्षामा चासो देखाएको छैन ।

मंगलवार प्लस्टरको लागि खट बाध्दै गर्दा चिप्लिएर एक श्रमिक लडेका थिए । थोरै उचाइ भएकोले ठूलो दुर्घटना भएन । उक्त घट्नाले निर्माण कार्यमा श्रमिकलाई सुरक्षा कवचको व्यवस्था र श्रमिकको ज्यानको सुरक्षामा जिम्मेवार पक्षले नजरअन्दाज गरेको स्पष्ट बुझ्न सकिन्छ ।