शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीको दुवै निर्वाचन क्षेत्रमा एमाले अगाडी

आइतवार , श्रावण २९, २०७९

सिन्धुली– आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन घोषणासँगै सिन्धुली लगायत देशभर मतको जोडघटाउ सुरू भएको छ । सत्ता गठबन्धन सबै निर्वाचन क्षेत्रमा सिट बाँडफाँटको काममा जुटेको छ । सत्तारूढ गठबन्धनका दल मिलेर लड्ने भएपछि वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको परिणामले धेरै अर्थ राख्नेछ । २०७४ सालको संसदीय चुनावमा पनि सिन्धुलीको स्थानीय निर्वाचनमा जितेका ठाउँमा एमाले र माओवादी गठबन्धनले प्रतिनिधि सभा सदस्यको चुनाव जितेका थिए । २०७४ को चुनावमा दुवै क्षेत्रबाट वाम गठबन्धन विजयी भएको थियो । त्यसैगरि, प्रदेशमा पनि चारैवटा क्षेत्रमा वाम गठबन्धन विजयी भएको थियो ।

यसपालिको चुनावमा सत्तारूढ दलहरूबीच कति मत ‘ट्रान्सफर’ हुन्छ हेर्न बाँकी छ । गएको स्थानीय निर्वाचनमा अध्यक्ष र उपाध्यक्षतर्फ सात/सात स्थानमा सत्तारूढ दलहरूले जितेकाले मत ‘ट्रान्सफर’ हुने संकेत गर्छ ।

हामीले सिन्धुलीको मतको विश्लेषण गरेका छौँ । यहाँ सत्तारूढ गठबन्धनले कसरी सिट बाँडफाँट गर्लान् त्यसको पनि विश्लेषण गरेका छौं ।

२०७४ को निर्वाचनमा सिन्धुलीका दुई निर्वाचन क्षेत्रमध्ये एमाले र मोआवादी केन्द्रले एक/एक ठाउँमा विजयी भएको थियो । तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन गरेर निर्वाचनको माहौल आफ्नो पक्षमा पारेका थिए । क्षेत्र नम्बर १ बाट नेकपा एमालेका गणेश पहाडी र क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका हरिबोल गजुरेलले जित हासिल गर्नुभएको थियो । यो बीचमा नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग भएका छन् ।

२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने सिन्धुलीमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुन् । मतको अनुसार नेकपा माओवादी केन्द्रको मत तुलनात्मक रुपमा कम छ । भलई, सिटको आधारमा भने माओावदी केन्द्रको पकड राम्रै देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा सिन्धुलीको दुई क्षेत्रमा पर्ने सबै वडाहरूमा आएको मतको विश्लषण गर्दा नेकपा एमाले एक्लै दुवै स्थानमा छिनो मतले बलियो देखिएको छ । उसले क्षेत्र नै १ मा कांग्रेसलाई र क्षेत्र नं २ मा माओवादीलाई पछि पारेको छ ।

सिन्धुलीको क्षेत्र नं १ मा वडागत मतलाई आधार मान्ने हो भने एमाले झण्डै तीनहजार मतले कांग्रेसभन्दा अघि छ । यो निर्वाचन क्षेत्रमा जम्मा ४१ वटा वडा पर्छन् । एमालेका वडा अध्यक्षहरूले यहाँ ३० हजार ३३ मत पाएका छन् भने कांग्रेसका वडा अध्यक्षहरूले २७ हजार ६ सय ८२ मत पाएका छन् । त्यस्तै माओवादीका उम्मेदवारहरूले यी वडामा १३ हजार ३ सय ६९ मत पाएका छन् । यो क्षेत्रमा कमलामाई नगरपालिकाको वडा नं ९,१३,१४ र दुधौली नगरपालिका, गोलन्जोर, फिक्कल र तिनपाटन पर्छन् । गत वैशाख ३० गतेको यस क्षेत्रका १४ वटा वडामा कांग्रेस र एमालेको साझा उम्मेद्वारले चुनाव लडेका थिए ।

यो क्षेत्रमा २०७४ मा नेकपा एमालेका गणेश पहाडी विजयी हुनुभएको थियो । उहाँले यहाँ ३२ हजार ५ सय २९ मत पाउनुभएको थियो । उहाँले कांग्रेसका प्रेमचन्द्र दाहाललाई हराउनुभएको थियो । पहाडीले १० हजार बढि मतले दाहालसँग विजयी हासिल गर्नुभएको थियो ।

त्यस्तै, सिन्धुली क्षेत्र नं २ मा भने एमाले माओवादी केन्द्रभन्दा अगाडि छ । यस क्षेत्रमा कमलामाई नगरपालिकाको १ देखि ८ र १० देखि १२ सम्मका वडा, सुनकोशी, हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाको वडाहरु पर्छन् । स्थानीय तहको निर्वाचनमा एमालेले यो क्षेत्रमा पर्ने वडाहरूमा २१ हजार ४ सय ५५ मत पाएको छ भने माओवादीले १९ हजार ४ सय ८८ मत पाएको छ । त्यस्तै, यो क्षेत्रमा कांग्रेसले भने १९ हजार २९ मत पाएको छ ।

२०७४ को चुनावमा क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका हरिबोल गजुरेलले कांग्रेसका नरेन्द्र जंग थापालाई पराजित गर्नुभएको थियो । गजुरेलले ३० हजार १ सय ७९ मत ल्याउँदा थापाले १८ हजार १ सय २७ मत ल्याउनुभएको थियो ।

सिन्धुलीमा सत्तारूढ गठबन्धनबीच कसरी निर्वाचन क्षेत्र बाँडफाँट होला?: सिन्धुलीको क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनका दुई प्रमुख साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रमध्ये कांग्रेसको ठूलो दबदबा देखिन्छ । यस क्षेत्रको १९ वटा वडामा कांग्रेस उम्मेद्वार विजयी भएका छन् भने माओावादी केन्द्रका छ जना उम्मेद्वारले मात्र जित हासिल गरेका छन् । त्यसैगरि, यस क्षेत्रमा रहेका चारवटा पालिका मध्ये कांग्रेसबाट २ वटा अध्यक्ष, एउटा उपाध्यक्ष र माओवादीबाट एउटा अध्यक्ष र दुईवटा उपाध्यक्षका उम्मेद्वारले चुनाव जितेका छन् ।

त्यसैगरि, जिल्लाको क्षेत्र नम्बर २ मा कांग्रेस भन्दा माओवादी केन्द्र बलियो देखिएको छ । यस क्षेत्रका १९ वटा वडामा माओवादीले जितेको छ भने कांग्रेसले १० वटा वडामा मात्र जित हासिल गरेको छ ।

दुई नगरपालिका र ७ गाउँपालिका भएको सिन्धुलीमा कांग्रेसले एक नगर र दुई गाउँपालिका जितेको छ । एमालेले २ गाउँपालिका, माओवादीले चार गाउँपालिकामा जित हासिल गरेको छ ।

दुई क्षेत्रका संभावित उम्मेद्वार: जिल्लाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट सत्तारुढ गठबन्धनको तर्फ साझा उम्मेद्वार छनौटकालागि गृहकार्य भइरहेको श्रोतको दाबि छ । यस क्षेत्रबाट २०७४ मा पराजित प्रेम चन्द्र दाहाल र पुर्व सांसद मोहन बराललाई टिकट दिने कसरत भइरहेको श्रोतले बतायो ।

त्यस्तै, एमालेका तर्फबाट भने प्रदेश सांसद प्रदिप कटुवालले इच्छाएका छन् । उहाँ यसअघि नेकपा एमालेको दशौँ महाधिवेशनमा रामकुमार कार्कीसँग जिल्ला अध्यक्षमा पराजित हुनुभएको थियो । यता, पुर्व सांसद गणेश पहाडीलेनै टिकट पाउन सक्ने आकलन पनि गरिएको छ । उहाँ केपी ओलीको सरकारमा १२ दिनको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत नियुक्त हुनुभएको थियो ।

त्यसैगरि, क्षेत्र नम्बर २ बाट भने माओवादी केन्द्रलाई उम्मेद्वार छान्न सकश हुने देखिन्छ । जिल्ला इन्चार्ज लेखनाथ दाहाल ‘राजन’ र पुर्वकृषिमन्त्री हरिबोल गजुरेलमध्य टिकट कस्लाई दिने भन्नेमा गठबन्धनलाई गारो परेको श्रोतले बतायो । यता, गजुरेललाई बागमती प्रदेशको मुख्यमन्त्रीको लोभ देखाएर राजनलाई टिकट दिन गृहकार्य भइरहेको समेत श्रोतले बताएको छ ।

क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बुद्धिजिवि परिषदका केन्द्रिय इन्चार्ज मनोजजंग थापाको नाम अग्रपंक्तिमा छ । सिभिल इन्जिनियरसमेत रहनुभएका थापाले भारतमा अध्ययनरत रहदादेखिनै गणतन्त्र ल्याउन महत्वपुर्ण भुमिका निभाउनुभएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया