सिन्धुली,– सिन्धुलीको गोलन्जोर गाँउपालिका अध्यक्ष शंकर बरालले पाँच बर्षभित्र पालिकामा २५ शैथ्याको सरकारी अस्पताल स्थापना गर्ने आफ्नो योजना रहेको बताउनु भएको छ ।
उहाँले स्वास्थ्य संस्थामा राज्यले निःशुल्क भनेका औषधिहरु समयमा नै उपलब्ध गराउने, टोलबस्तिमा एम्बुलेन्स सहज रुपमा जानसक्ने सडक निर्माण गर्ने, स्वास्थ्य संस्थामा जान धेरै टाढा रहेको बस्तिमा स्वास्थ्य केन्द्र थप गर्ने आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो ।
सिन्धुली सौगातसंग कुरागर्दै उहाँले भन्नुभयो, “गाँउपालिकाले पाँच बर्षभित्रमा २० देखि २५ शैथ्याको सरकारी अस्पताल स्थापना गर्ने लक्ष्य राखेको छ । त्यसका लागि जोडतोडले लाग्छौं, लागि रहेका पनि छौं ।” स्वास्थ्य, शिक्षा र कृषि आफ्नो प्राथमिकतामा परेको क्षेत्र रहेको जानकारी दिदै उहाँले पालिकालाई कृषि मार्फत समृद्ध बनाउन सकिने बताउनुभयो ।
आफुले चाहे अनुसारको शक्ति सन्तुलन कार्यपालिकामा नभएकाले काम गर्न असहज भएको चर्चा गर्दै उहाँले काम गर्ने सहज बताबरण बनाउदै जनताको न्युनतम आवश्यकता पुरा गर्दै जाने बताउनुभयो । काम नगर्ने कर्मचारी निकाल्दा गाँउपालिका कार्यालयमा १० दिन ताला लागेको उहाँको गुनासो थियो ।
उहाँले भन्नुभयो, “गोलन्जोरका धेरै जति जनता कृषि पेशामा आश्रित रहेका छन् । माथिल्लो महाभारत क्षेत्रमा जुनार, सुन्तला, कागती जस्ता फलफुल खेती हुदै आएको छ भने तल्लो क्षेत्रमा तरकारी खेती र पशुपालन गरेर किसानले आम्दानी लिने कुरा हो । त्यसमा जोड दिएका छौं ।”
पालिकाका बासिन्दा अहिले पनि न्युनतम आधारभुत सुविधाबाट बञ्चित रहेको चर्चा गर्दै उहाँले खानेपानी, सिंचाई, शिक्षा, सडक निर्माण उनीहरुको अपेक्षा रहेको प्रष्ट्याउनु भयो । “खानेपानी सुविधा कतै छ, कतै छैन,’ गाँउपालिका अध्यक्ष बरालले भन्नुभयो, ‘गोलन्जोरमा ठाडो खोलाहरु छन् । सबै ठाँउमा सिंचाई व्यवस्थित छैन । कुलाहरु राम्रो बनाउ, स्वास्थ्य, शिक्षामा राम्रो गरेर फरकपन ल्याउ भन्ने छ ।”
जिल्लामा सबैभन्दा बढी जुनार उत्पादन हुने पकेट क्षेत्र गोलन्जोर गाँउपालिकामा नै रहेको छ । जुनार क्षेत्र तीनकन्यामा धेरै भण्डारण क्षेत्र भएका कोल्डस्टोर र चिस्यान केन्द्र प्रदेश सरकारमार्फत निर्माण गर्न पहल भई रहेको उहाँले सुनाउनुभयो । गाँउपालिका अध्यक्ष बरालले भन्नुभयो,“ ‘जुनार क्षेत्रसम्म सडकको पँहुच सहज बनाउने र जुनारको बोटमा रोग किरा लागि रहेकोले बर्षको एक पटक प्रत्यक बोटमा प्राविधिक पु¥याउने योजनामा छु ।”
पालिकामा पर्यटन विकासका लागि सुनकाशीसी नदीमा खुर्कोटदेखि बलेनीसम्म जलयात्रा (¥याफ्टिङ) व्यवसाय नीजि क्षेत्रमार्फत सञ्चालन गरिने र त्यसका लागि छिट्टै टेण्डर आह्वान गर्ने तयारी भई रहेको उहाँको भनाई छ ।