सिन्धुली,– नेकपा माओवादी केन्द्र सिन्धुलीका ईन्चार्ज राजन दाहालले माओवादी केन्दको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारी नेताहरु उत्पादन गर्ने कारखानाको रुपमा स्थापित भएको बताउनुभएको छ ।
अनेरास्ववियू क्रान्तिकारी प्राकृतिक स्रोत व्यवस्थापन कलेज इकाई कमिटिले आयोजना गरेको विदाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य समेत रहनु भएका दाहालले अनेरास्ववियू (क्रान्तिकारी) क्रान्तिकारी नेतृत्व छान्ने संगठनको रुपमा स्थापित भएको बताउनुभएको हो ।
उहाँले एमाले निकट अनेरास्ववियु र काँग्रेस निकट नेविसंघ लगाएतका अन्य विद्यार्थी संगठनहरुसँग कुनै निति, योजना र जनतासँग जोडिएका कुनै बिचार नरहेको आरोप लगाउनुभयो । तर माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले भने विद्यार्थीको हकहितका लागि नेतृत्व गर्ने देखि जनताको गाँस,बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्ने उदेश्य बोकेको आफ्नो मुलपार्टीलाई नेतृत्व प्रदान गर्ने काम पनि गर्ने उहाँले जिकिर गर्नुभयो ।
ईन्चार्ज दाहालले अनेरास्ववियू क्रान्तिकारीमा आबद्ध नेता कार्यकर्ताहरुमा अरु संगठनको भन्दा भिन्न आचारण, व्यवहार र सस्कार चाहिने बताउनुभयो । उहाँले अन्य दलका विद्यार्थी संगठनका नेताहरु निजी स्वार्थमा केन्द्रित हुने आरोप लगाउदै सामुहिक संकल्प प्राप्तीका लागि निजी स्वार्थलाई बलिदान गर्न सक्ने मात्रै अनेरास्ववियू क्रान्तिकारीको नेता बन्न सक्ने बताउनुभयो ।
उहाँले देशमा प्राविधिक शिक्षाको सुरुवात माओवादी केन्द्रकै पहलमा सुरु भएको भन्दै मरिणमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज संचालन गर्न माओवादीको मात्रै भुमिका रहको दावी गर्नुभयो ।
प्राकृतिक स्रोत व्यवस्थापन कलेज स्थापना भएको पहिलो बर्षमा भर्ना भई चार बर्षको पढाई सकाएका विद्यार्थीहरुको विदाई र नयाँ विद्यार्थीहरुको स्वागतका लागि अनेरास्ववियू क्रान्तिकारी इकाई कमिटिले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष, महासचिव, सचिव, माओवादी केन्द्रको बागमती प्रदेशसभाका प्रमुख सचेतक बुद्धिमान माझी लगाएत पार्टीका विभिन्न तहका नेताहरुको उपस्थिती रहेको थियो ।