बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

युवा संघ सिन्धुलीको इन्चार्जमा वाईबा चयन

मंगलवार , श्रावण २४, २०७९

सिन्धुली– नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको सिन्धुली इन्चार्जमा देवराज वाइबा चयन हुनुभएको छ । युवा संघको केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंगिएसँगै सिन्धुलीको इन्चार्जमा वाईबा र सहइन्चार्जमा सरोज वि.क चयन हुनुभएको हो ।

अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको उल्लेख छ ।

त्यस्तै, केन्द्रीय कमिटीको दोसो पूर्ण बैठकले ४९१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । साउन १४ र १५ गते बसेको बैठकले १७ सदस्यीय केन्द्रीय पदाधिकारीसहित ४९१ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो ।

जसमा अध्यक्ष, ९ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव र ४ जना सचिव रहेका छन् । युवा संघको केन्द्रिय उपाध्यक्ष सिन्धुलीका पुष्पराज श्रेष्ठ हुनुहुन्छ । युवा संघले ४५ जनाको स्थायी कमिटी पनि बनाएको छ । स्थायी कमिटीलाई भने पछि पूर्णता दिने अध्यक्ष किरण पौडेलले बताउनुभएको छ ।

युवा संघको केन्द्रिय कमिटिमा सिन्धुलीका चारजना अटाएका छन् । केन्द्रिय सदस्यमा बेनी कार्की, ध्रुव नारायण लामा, मनोज लामा र पिताम्बर बराललाई चयन गरिएको छ ।

प्रतिक्रिया