शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सुर्तीजन्य पदार्थसहित सिन्धुलीका गौतम सहित चार पक्राउ

बिहिवार , श्रावण १९, २०७९

काठमाडौं, – प्रहरीले काठमाडौंबाट राजश्व छली गरेको सुर्तीजन्य पदार्थसहित सिन्धुलीका गौतम सहित चार जनालाई पक्राउ गरेको छ ।

सिन्धुली तीनपाटन गाउँपालिका–६ घर भई बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ५६ वर्षीय पोष्टराज गौतम, मोरङ विराटनगर नगरपालिका–१२ घर भई धोबिघाट बस्ने ५३ वर्षीय सुरेश पोखरेल, सर्लाही विष्णु गाउँपालिका–३ घर भई हाल कुलेश्वर बस्दै आएका ४४ वर्षीय दिनेश चौधरी र सिनामंगलका ३८ वर्षीय अरबिन्द अग्रवाललाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनु भयो । उहाँका अनुसार उनीहरूले राजश्व छली गरी सुर्तीजन्य पदार्थ राखेको आरोप छ ।

प्रहरीले काठमाडौं उपत्यकाभित्र केही व्यक्तिहरूले गैरकानुनी रूपमा भारतबाट कच्चा सुर्ती राजश्व छली ल्याई भण्डारण गरेको भन्ने गोप्य सूचना पाएको प्रहरी उपरीक्षक कोइरालाले बताउनु भयो । सोही गोप्य सूचनाको आधारमा उनीहरूलाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पोष्टराजलाई पेप्सीकोला र दिनेशलाई कुलेश्वरबाट पक्राउ गरी अनुसन्धान गर्दा उनीहरूले उक्त सुर्तीजन्य कच्चा पदार्थ न्यू शुभ लक्ष्मी सुर्ती उद्योगबाट लिएको जनाएको प्रहरी उपरीक्षक कोइरालाले बताउनु भयो । न्यू शुभ लक्ष्मी सुर्ती उद्योग अरबिन्द अग्रवाल र सुरेश पोखरेलले सञ्चालन गरेका हुन् ।

उक्त उद्योगले उपत्यकाका विभिन्न स्थानमा सुर्तीजन्य पर्दाथ भण्डारण गरी राखेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक कोइरालाले बताउनु भयो ।

राजश्व अनुसन्धान विभाग हरिहर भवन तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नख्खुस्थित फूलबारी मार्ग, भैंसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको दुइटा गोदाम र अफिस तथा खोकनास्थित रहेको श्री न्यू शुभ लक्ष्मी सुर्ती उद्योगमा खानतलासी गरेको थियो ।

खानतलासी गर्दा प्रहरीले तयारी सुर्ती १९५ बोरा अर्थात् झन्डै आठ हजार किलो र कच्चा सुर्ती झन्डै २० हजार २०० किलो बरामद गरेको जनाएको छ । प्रहरीले सामानको मुचुल्का उठाउने काम भइरहेको समेत जनाएको छ ।

झण्डै एक करोड ३० लाख बराबरको सुर्तीजन्य पर्दाथ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाएको जनाएको छ । सेतोपाटीबाट साभार ।

प्रतिक्रिया