सिन्धुली – कमलामाई नगरपालिका वडा नं. ४ केवरेमा खानेपानीको समस्या रहेको स्थानियले गुनासो गरेका छन् । वर्षाको कारण खानेपानीको मुहान भत्किएपछि केवरेमा खानेपानीको समस्या भएको हो ।
स्थानियहरुले खानेपानीको समस्या समाधान गरिदिन स्थानिय जनप्रतिनिधिसँग माग गरेका छन् । आफुहरु स्वच्छ खानेपानी बाट बञ्चीत भएको भन्दै खानेपानीको माग गरेका हुन् । गैरी केवरे, थापाटोल, केराबारी लगायतका स्थानमा खानेपानीको समस्या रहेको स्थानीयले बताएका छन् ।
कमलामाई नगरपालिका ४ केवरेका बर्दमान तामाङले कृषि सडकको लागि स्थानीय तहले पहल गरिदिन अनुरोध गर्दै कृषिमा आएको अनुदान केवरे केराबारीका कृषकहरुले नपाएको गुनासो गर्नुभएको छ । नागगरिकहरुले गरेको गुनासोको सम्बोधन गर्नुहुदै कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोख्रेलले १ घर १ धारा निर्माण गर्ने र केवरेका स्थानीयलाई खानेपानी सुविधाको लागि तत्काल पहल गर्ने, वास्तविक किसानलाई कृषि अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । आयस्रोतलाई उत्पादनमा जोडी रित पु¥याएर अनुदान माग गर्न आउने कृषकलाई अनुदान उपलब्ध गराउने बताउनुभयो ।
ग्वाङखोलामा चियाबारी जोड्ने पुल निर्माण नहुदा बर्खा याममा सास्ती खेप्नुपर्ने स्थानीयको गुनासोलाई उहाँले पक्की पुलको लागि पहल गर्ने र तत्कालको लागि फलामको पुल निर्माण गर्न प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता गर्नुभयो ।
त्यस्तै कमलामाई नगर उपप्रमुख मन्जु देवकोटाले अघिल्लो कार्यकालमा गर्न बाँकी रहेका कामलाई पुरा गर्ने र स्वच्छ पिउने पानी, सडक सविधा लागायतको काम यस बर्ष पुरा गर्ने बताउनुभयो । नयाँ आर्थिक बर्षको लागि बजेट बनाउने समय भएकाले आफ्नो टोल, गाउँ तथा वडामा भएका समस्याहरुलाई टिपोट गरेर योजना माग गर्न आग्रह समेत गर्नुभयो ।
कमलामाई गरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले स्थानीय तहले बिकासको लागि योजना छुट्याउने तर काम भने स्थानीयकै रोहोवरमा हुने भएकाले बिकास निर्माणको काममा अवरोध नगर्न आग्रह गर्नुभएको छ । केराबारीको बिद्यालयमा भवन निर्माण गर्न पहल गर्ने, सिचाई सुविधाको लागि तत्काल निवेदन लिएर आउन आग्रह गर्दै प्रदेश बाट बजेट माग गरिदिने प्रतिबद्धता गर्नुभयो । कमलामाई नगरपालिका ४ का वडा सचिव उद्धव थापाले आर्थिक बर्ष २०७८÷७९ मा वडामा संचालन भएका योजनाको बारे जानकारी गराउनुभएको थियो ।