सिन्धुली– सिन्धुलीका नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण पश्चात पदभार ग्रहण गरिरहेका छन् । जिल्लाको मरिण गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विमर्श मोक्तान, गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बराल लगायत नवनिर्वाचित जनप्रतिनिधिले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणमा जनप्रतिनिधिले सम्झनलायक निर्णय गरेका छन् । मरिण गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष पानीराज बम्जनको उपस्थितिमा नवनिर्वाचित अध्यक्ष मोक्तानले पदभार ग्रहण गर्नु भएको हो । पदभार ग्रहण गर्दै नवनिर्वाचित गाउँ पालिका अध्यक्ष मोक्तानले पालिका भित्रका गर्भवती महिलाहरूलाई सुत्केरी हुन अस्पताल सम्म पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषण गर्नु भएको छ ।
त्यस्तै, गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गर्नुभएको छ । स्थानीय तहको गत वैशाख ३० गते भएको निर्वाचनमा विजयी भए सँगै सोमबार पद बहाली गर्दै बरालले गाउँपालिका सल्लाहकार समिती गठन गर्ने निर्णय गर्नुभएको हो । गाउँपालिका भित्र रहेका साविक गाउँ विकास समिती तथा २०४६ साल पछि जनप्रतिनिधीहरुको सहभागितामा समृद्ध गोलन्जोर निर्माणको लागि सल्लाह सुझाव र अनुभव आदन प्रदानमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ गाउँपालिका सल्लाहकार समिति बनाउने निर्णय गरेको बरालले बताउनुभएको छ । त्यसैगरी पद बहाली सँगै अध्यक्ष बरालले, गोलन्जोरमा गाउँपालिका स्तरिय ५० शैयाको अस्पताल निर्माणको लागि जग्गा प्राप्तिको लागि पहल गर्ने निर्णय गर्नुभएको छ ।
त्यसैगरि, सुनकोशी गाउपालिकाका नवनिर्वाचित अध्यक्ष दिपा बोहोरा दाहाल र नवनिर्वाचित उपाध्यक्ष कपिल कुमार कोइरालाले सोमबारनै पदभार ग्रहण गर्नुभएको छ । नवनिर्वाचित पालिका उपाध्यक्ष कोइरालाले भने पालिका अध्यक्ष दाहाल बाट सपथ ग्रहण लिएर पदभार ग्रहण गर्नुभएको हो । साथै, सात वडाकै वडाअध्यक्ष हरुको पनि सामेबारनै पदभार ग्रहणको कार्यक्रम रहेको थियो । यता, फिक्कल गाउँपालिका अध्यक्ष पार्वति सुनुवार र उपाध्यक्ष राजु बरालले पनि सोमबारनै पदभार गर्नुभएको छ ।
यसैगरी जिल्लाको तिनपाटन गाउँपालिकाको नवनिर्वाचित पालिका अध्यक्ष कर्ण थापामगरले सोमबार एक औपचारिक कार्यक्रमको बिच दोश्रो कार्यकालको लागी पदभार ग्रहण गर्नुभएको हो । साथै उहाले निर्वाचित उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाइ पदभार ग्रहण तथा गोपनियताको सपत गराउनु भएको थियो ।
सफत तथा पदभार ग्रहण पछि कार्यक्रममा सम्बोधन गर्दै थापाले अबको पाँच बर्ष काम गर्नको लागी कुनै पनि बहाना ब्यर्थ रहने औल्याउँनु भयो । उहाँले भन्नुभयो, “हामी कोहि जनप्रतिनिधीलाई अब कुनै हालतमा कुनै बहानाले पन्छिने छुट छैन, तिनपाटनबासीले अत्यन्त बिश्वासले मत दिनुभएको छ, त्यो बिश्वासको मतलाई हामिले काम गरेर प्रमाणित गर्नुपर्दछ ।” गाउँपालिकाले उक्त सपथग्रहण कार्यक्रम सँगै निबर्तमान जनप्रतिनिधिहरुलाई सम्मान–पत्र सहित बिदाई समेत गरेको छ ।