सिन्धुली– स्थानिय तह निर्वाचन २०७९ मा सिन्धुलीका शिर्ष नेताहरु गृहवडामै आफ्नो दलको उम्मेदवारलाई जिताउन असफल भएका छन् । १२ दिनकालागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएका नेकपा (एमाले) केन्द्रिय सदस्य तथा सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद गणेश पहाडीको गृहवडामै एमालेका उम्मेदवार पराजित भएका छन् । जिल्लाको फिक्कल गाउँपालिका ४ नम्बर वडाबाट मतदान गर्नुभएको पहाडीले सो वडामा एमालेलाई जिताउन सक्नुभएन । सो वडामा एमाले प्यानलनै असफल हुन पुग्यो । पहाडीको गृहवडामै नेपाली काँग्रेसका मोहन मगरले जित हासिल गर्नुभएको थियो । यता, बागमती प्रदेशका पुर्वस्वास्थ्यमन्त्री समेत रहनुभएका नेकपा एमाले सिन्धुलीका निवर्तमान जिल्ला अध्यक्ष प्रदिप कटुवालको वडामा भने एमालेका उम्मेदवार विजयी भएका छन् । कटुवालले मतदान गरेको फिक्कल गाउँपालिका ३ नम्बर वडामा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।
पुर्व कृषिमन्त्री एवं माओवादी केन्द्रका सांसद हरिबाले गजुरेलको वडामा भने गठबन्धनतर्फ नेपाली काँग्रेसका उम्मेदवारलाई टिकट दिइएको थियो । सो वडामा माओवादी केन्द्र बलियो नभएकाले नेपाली काँग्रेसका महेन्द्र ढकाल गठबन्धनका साझा उम्मेदवार बन्नुभएको थियो । सो वडामा नेपाली काँग्रेस विजयी भएको छ भने माओावादी केन्द्रबाट कुनै पनि उम्मेदवारले सदस्यमा जित हासिल गर्न सकेनन् । गजुरेलको गृहनगरमा पनि गठबन्धनकै साझा उम्मेदवार उपेन्द्र कुमार पोखरेल निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा भने माओावादी केन्द्रका दिर्घराज श्रेष्ठ नेकपा एमालेका उम्मेदवार मञ्जु देवकोटासँग पराजित हुनुभएका छ ।
त्यसैगरि, नेपाली काँग्रसतर्फ जिल्लाका शिर्ष नेताहरुको वडामै काँग्रस उम्मेदवार पराजित भएपछि पार्टीभित्रै चर्को विरोध भएको छ । श्रोतका अनुसार शुक्रबार कमलामाई नगरपालिका १३ नम्बर वडामा पुर्वसभापति एवं सांसद मोहन बराल र उज्जवल बराललाई आफ्नै कार्यकर्ताले ¥याख¥याखति बनाएका थिए । १३ र १४ नम्बरबाट बरालद्वयले मतदान गरेका थिए । पुर्वसांसद समेत रहनुभएका मोहन बरालको गृहवडामै काँग्रस उम्मेदवार किरण माझी पराजित हुनुभएको थियो । सो वडामा नेपाली काँग्रस प्यानलनै पराजित भएको थियो । त्यस्तै, १४ नम्बर वडामा नेकपा एमालेका राजन न्यौपाने विजयी हुनुभएको छ ।
यता, बागमती प्रदेश सांसद एवं माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल ‘राजन’ को गृहवडामा माओावदी केन्द्रको प्यानलनै विजयी भएको छ । सुनकोशी गाउँपालिका ५ नम्बर वडामा माओवादीका सुरथ कुमार वसेल भारी मतले विजयी हुनुभएको थियो । सो वडामा प्यानलनै विजयी भएको थियो । त्यस्तै, सुनकोशी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकि दिपा बोहोरा निर्वाचित हुनुभएको छ ।