बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

काँग्रेस ३० बर्षपछि सिन्धुली कमलामाई नगरपालिकामा विजयी

आइतवार , जेठ ८, २०७९

सिन्धुली–०४७ सालको प्रजातन्त्र पुनस्थापना पछि करिब ३० बर्ष कम्युनिष्टको कब्जामा रहेको सदरमुकाम समेत रहेको कमलामाई नगरपालिका यो पटक काँग्रेसको पोल्टामा आएको छ ।

२०४९ सालको पहिलो स्थानिय निर्वाचनमा संयुक्त जनमोर्चाको तर्फबाट तत्कालिन सिद्देस्वर गाबिसमा दिर्घराज श्रेष्ठ अध्यक्ष निर्वाचित हुनुभएको थियो । सिद्देस्वर गाउँबिकास समिती कमलामाई नगरपालिकामा परिणत भएपछी २०५४ को स्थानिय निर्वाचनमा नेकपा एमालेको तर्फबाट बासुदेव श्रेष्ठ नगरप्रमुखमा निर्वाचित हुनुभएको थियो । उप प्रमुखमा पनि एमालेकै रसबहादुर कार्की निर्वाचित हुनुभयो । नेपाली काँग्रेसका प्रमुख र उपप्रमुख क्रमशः मणिक ढकाल र हरि पौडेल पराजित हुनुभयो ।

मओवादीसंगको द्वन्दको कारण लामो समय स्थानिय तहको निर्वाचनमा बाधा आयो । ०६२ सालमा राजाको शासनमा भएको निर्वाचन मार्फत एमालेकै पृष्ठभुमी भएका उमेश पोखरेल नगरप्रमुखमा निर्वाचित हुनुभयो । उक्त निर्वाचन सबै राजनितिक दलले बहिष्कार गरेका थिए । राजतन्त्रको अन्त्यपछी लामोसमय देश संक्रमणकालमा बित्यो । २०७४ सालको निर्वाचनले पनि नेपाली काँग्रेसलाई सुखद परिणाम दिएन । फेरि पनि नेकपा एमालेकै उमेदवारहरु प्रमुख र उपप्रमुखमा क्रमशः खड्ग बहादुर खत्री र मन्जु देवकोटा निर्वाचित हुनुभएको थियो ।

लामो रस्साकस्सी पछि नेपाली काँग्रेसको तर्फबाट उपेन्द्र कुमार पोखरेल र शुसिला थिङले प्रमुख र उपप्रमुखमा टिकट पाएपनी पराजित हुनुभएको थियो । सदरमुकाम समेत रहेको नगरमा बजार क्षेत्र र वरिपरि काँग्रेसको बर्चस्व रहे पनि ग्रामिण भेगमा एमालेको राम्रो प्रभाव देखिन्छ । काँग्रेस भित्र कहिले आन्तरिक द्वन्द, कहिले तयारीको कमि र कहिले टिकट बितरणमा ढिलाईका कारण समय अभावले नेकपा एमालेले जित हासिल गर्दै आएको कमलामाई नगरमा यो पटक भने काँग्रेसले बाजि मारेको छ ।

२०७९ बैशाख ३० को स्थानिय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका उपेन्द्र कुमार पोखरेल र उपप्रमुखमा नेकपा माओवादि केन्द्रका दिर्घराज श्रेष्ठ उमेदवार हुनुहुन्थ्यो । पोखरेल ०७४ मा प्रमुख पदका पराजित र श्रेष्ठ तत्कालिन सिद्देस्वर गाबिसका निर्वाचित अध्यक्ष हुनुहुन्छ ।

त्यसैगरी नेकपा एमालेका तर्फबाट यसपाली प्रमुखमा महेन्द्रदेव श्रेष्ठ र उपप्रमुखमा पुनः मन्जु देवकोटा उमेद्वार हुनुहुन्थ्यो। महेन्द्रदेव श्रेष्ठ ०५४ का एमालेका तर्फबाट प्रमुखमा निर्वाचित बाशुदेव श्रेष्ठका नाति हुनुहुन्छ ।

तर नेपाली काँग्रेस सिन्धुलीका सभापती पनि रहनुभएका उपेन्द्र कुमार पोखरेलले यो पटक बिजयी बनेर ३० बर्षसम्म कम्युनिष्ठको कब्जामा रहेको कमलामाई नगरपालिकालाई काँग्रेसको पोल्टामा ल्याउन सफल हुनुभएको छ। उपप्रमुखमा भने एमालेका मन्जु देवकोटा पुनः निर्वाचित हुनुभएको छ। गठबन्धनका उमेदवार दिर्घराज श्रेष्ठ अत्याधिक मत बदरका कारण पराजित हुनुभयो ।

प्रतिक्रिया