बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

विगतको कार्यकालमा बाँकी रहेका विकासको काम पुरा गर्ने छु : दिपा दाहाल

आइतवार , जेठ ८, २०७९

सिन्धुली–सुनकोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपा दाहालले भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएसँगै सपथ ग्रहण कार्यक्रम उहाँले विगतको कार्यकालमा बाँकी रहेका विकासका काम पूरा गर्दै भौतिक पुर्वाधारसँगै शिक्षा, कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता गर्नुभयो ।

“सुनकोशीमा विगतमा केहि भौतिक निर्माणका काम भएका छन् । त्यो काम पुरा गर्ने छु । कृषि साथै शिक्षाको क्षेत्रमा सुनकोशी गाउँपालिका परिर्वतन गराउने छु ”, उहाँले भन्नुभयो । उहाँले विगतको कार्यकालमा भत्केका बाटो कालोपत्रे, शुद्ध खानेपानीको व्यवस्था मिलाउन नसकेको भन्दै आगामी कार्यकालयमा उक्त काम पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विगतको कार्यकालमा ऐन, नीति नियम निर्माणमा अधिकांश समय बित्यो, विकासको जग बसालेका छौँ, त्यसलाई पूरा गर्न अब हामी एकजुट भएर लाग्नेछौँ”, उहाँले भन्नुभयो । आगामी पाँच वर्षमा सुनकोशी गाउँपालिकाले ठूलो विकास गर्ने उहाँको भनाइ थियो । अध्यक्ष दाहालले सबै क्षेत्रका अभियन्ताको राय, सुझाव र सल्लाहमा आगामी वर्षको बजेट निर्माण गर्ने बताउनुभयो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अध्यक्ष दाहालले नेकपा एमालेका उम्मेदवार रोमन राज गिरिलाई २७८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो । दाहालले ५३७६ मत प्राप्त गर्नु भएको थियो भने उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका रोमन राज गिरिले ५०९८ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै उपाध्यक्षका नेपाली काँग्रेसका कपिल कुमार कोइराला विजयी हुनुभएको छ । कोइरालले ६५९४ मत प्राप्त गरेका गर्नुभएको थियो भने उहाँको प्रतिस्पर्धी नेकपा एमालेकी हेमा कुमारी अधिकारीले ३९५८ मत प्राप्त गर्नुभएको थियो । सुनकोशी गाउँपालिकाको ७ वडा मध्ये ४ वडा काँग्रेस, दुइ माओवादी र एक एमालले जित हासिल गरेको छ ।

प्रतिक्रिया