सिन्धुली– सिन्धुलीको नौ स्थानिय तह मध्ये मरिण गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सबैभन्दा कम उमेरका विमर्श मोक्ताङ (प्रख्यात) विजयी हुनुभएको छ । स्थानिय तह निर्वाचन २०७९ मा जिल्लाको पालिका प्रमुखमा कान्छो तथा सबै भन्दा कम उमेरका मोक्ताङ निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार मोक्ताङ ३६ वर्षको उमेरमा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । मरिण गाउँपालिका अध्यक्षमा मोक्ताङ ४३४ मतान्तरले विजयी हुनुभएको हो । उहाँले ५१९४ मत प्राप्त गरि विजयी हुनुभएको थियो । मोक्ताङको प्रतिस्पर्धी नेकपा एमालेका गोविन्द लाल माझिले ४७६० मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, नेपाली कांग्रेसबाट मरिण गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित विमला माझी जिल्लाकै कान्छी उपाध्यक्ष हुनुभएको छ ।
[caption id="attachment_116719" align="alignnone" width="960"]
तस्बिरः मरिण गाउँपालिका उपाध्यक्ष विमला माझी[/caption]
३५ वर्षिया माझीले ४ हजार ७७३ मतान्तरसहित स्वतन्त्र उम्मेदवार मञ्जु माझीलाई पराजित गर्नुभएको छ । गत शुक्रबार भएको स्थानीय तहको निर्वाचनको जिल्लाका ९ वटै स्थानिय तहको मत परिणाम आइसकेको छ । प्राप्त मतपरिणाममा केही रोचक तथ्य समेत उजगार भएका छन् । कतिपय पालिकामा देवर, भाउजु नै पराजित भएको, श्रीमान, श्रीमति नै विजयी भएको, ज्वाइँ–जेठान, दाजुभाइको हारजित भएका समाचार आइरहेका छन् । यो निर्वाचनमा नयाँ पुस्ताका तन्नेरीहरु पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
तन्नेरी युवा वडाध्यक्षहरुः जिल्लाको सुनकोशी गाउँपालिका २ नम्बर वडामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जिवन बुर्जा जिल्लाकै कान्छा वडाध्यक्ष हुनुभएको छ । उहाँले नेकपा एमालेका दिवाकर गुर्माछानलाई २२० को मतान्तरसहित जित हासिल गर्नुभएको छ । नेपाली कांग्रेसकै तर्फबाट तिनपाटन गाउँपालिका वडा नम्बर ७ मा २७ वर्षिया युवराज पहाडी वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । सनुकोशी गाउँपालिका वडा नम्बर ५ मा मोआवादी केन्द्रका २९ वर्षिया सुरत कुमार वसेलले वडाध्यक्षमा जित हासिल गर्नुभएको छ । दुधौली नगरपालिका २ र ४ मा क्रमशः ३० वर्षिया रितेश राउत र रित बहादुर विश्वकर्मा निर्वाचित हुनभएको छ
। गोलन्जोर २ मा कांग्रेसबाट ३० वर्षिया दौलत कार्की वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । राजनीतिमा युवा पुस्ताको हस्तक्षेपले आशाको सञ्चार गरिदिएको छ । टेस्टेड नेतृत्वबाट जनतामा जागेको निराशा राजनीतिमा युवा पुस्ताको आगमनले घटाइदिनेछ । तर त्यसका लागि नेतृत्वमा पुगेका युवाहरुले परम्परागत ढर्रा छाडेर जनअपेक्षा पूरा गर्नपर्नेछ । यो पटकको निर्वाचनमा केही पालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षमा युवा प्रतिनिधि चुनिएका छन् । अब उनीहरुको कार्यसम्पादन कस्तो हुनेछ, त्यसले उनीहरुको राजनीतिक भविष्यलाई धेरै हदसम्म निर्धारण गरिदिनेछ ।