सिन्धुली– सिन्धुलीबाट स्थानिय तह २०७९ को चुनावमा गाउँपालिका अध्यक्षका एक, वडा अध्यक्ष र वडा सदस्यका १÷१ सहित तीन उम्मेदवारहरुले एक मत पनि नपाएको भेटिएको छ । जिल्लाको सुनकोशी गाउँपालिकाको स्वतन्त्र अध्यक्ष उम्मेदवार टीका प्रसाद आचार्य, हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ बाट वडाध्यक्षतर्फ मंगोल नेशनल अर्गनाईजेसन पार्टीका उम्मेदवार श्रीष्ठलव राई र वडा सदस्यतर्फ कमलामाई नगरपालिका ८ नम्बर वडाका सदस्य उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हेमा थिङले शुन्य मत पाएकोे निर्वाचन आयोगले जनाएको छ ।
१ मत पाउने दुई उम्मेदवारः सिन्धुलीमा दुईजना उम्मेदवारले एक मत मात्रै पाएका छन् । जिल्लाको सुनकोशी गाउँपालिका ४ नम्बर वडाका अध्यक्ष उम्मेदवार सिंह लामा र घ्याङ्लेख गाउँपालिका वडा नम्बर २ का वडासदस्य स्वतन्त्र उम्मेदवार राम कुमार रामदामले एक मत मात्र प्राप्त गर्नुभएको छ । त्यस्तै, जिल्लामा एकजना मात्र निर्विरोध निर्वाचित भएका छन् । मरिण गाउँपालिका वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दलित महिला सदस्यका उम्मेदवार चेली माया कामी निर्विरोध निर्वाचित हुनुभएको हो ।