सिन्धुलीको तीनपाटन गाउँपालिकाको अध्यक्षका उम्मेदवार कर्ण थापा मगर विरुद्ध मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएपछि थापाले सामाजिक संजालबाट स्पष्टिकरण दिनुभएको छ । मगर प्रोपाइटर रहेको थापा कन्स्ट्रक्सनले बेरुजु रकम दाखिला नगरेको भन्दै उजुरी परेपछि तीनपाटन गाउँपालिकाले महालेखा परिक्षकको कार्यालयलाई पठाएको निवेधनसहितको प्रमाण मगरले सार्वजनिक गर्नुभएको छ । उक्त निवेदनमा थापा कन्स्ट्रक्सनले बुझाउनुपर्ने आठ लाख पाँच हजार ७०६ रुपैँया गाउँपालिकाको आन्तरिक राजश्व खातामा दाखिला भइसकेको उल्लेख गरिएको छ ।
साथै, थापा प्रोप्राइटर भएको कन्स्ट्रक्सन कम्पनिको नाममा विभिन्न बैंकमा रहेको खातामा कारोबार भइरहेको भन्ने विषयमा मगरले सो खातामा हालसालै कुनै कारोबार नभएको स्पष्ट पार्नुभयो । उजुरीका बारेमा बाल्दै मगरले भन्नुभयो, ‘मैले आफ्नो उम्मेदवारीलाई कुनै पनि कानुनी समस्या नपर्ने गरि उम्मेदवारी दर्ता गराएको छु । तर गठबन्धनको शक्तिबाट आत्तिएर हाम्रो प्रतिस्पर्धीले हार्ने कमजोर मानसिकताले अनेक प्रपोगाण्डा गरिरहेका छन् ।’ उहाँले आफूविरुद्धको दावी विरोध पराजयको छटपटाहट मात्र रहेको बताउनुभयो । साथै, उहाँले आफूले प्रमाणसहित स्पष्टिकरण दिएको बताउदै भ्रममा नपर्न आग्रह गर्नुभयो ।
अध्यक्ष पदमा उम्मेदवार हुन मनोनयनपत्र दर्ता भएका थापाको विरोधमा नेकपा एमालेकातर्फबाट तीनपाटन गाउँपालिकाको अध्यक्षको उम्मेदवार छत्र बहादुर दाहालको प्रतिनिधिले उजुरी दर्ता गराएका थिए । नेपाली कांग्रेसकोतर्फबाट उम्मेदवार रहनुभएका मगर प्रोपाईटर रहेको थापा कन्स्ट्रक्सन सर्भिसले बेरुजु रकम दाखिला नगरेको भन्दै उजुरी परेको थियो । साथै, थापा स्थानिय तहको ठेक्कापट्टामा समेत हालसम्म संलग्न रहेको र थापा प्रोप्राइटर भएको कन्स्ट्रक्सन कम्पनिको नाममा विभिन्न बैंकमा रहेको खातामा कारोबार भइरहेको भन्दै उजुरी दर्ता भएको थियो ।
वडाध्यक्षको उम्मेदवारविरुद्धपनि उजुरी: ५ नम्बरको वडाध्यक्ष उम्मेदवार भुपाल सिंह तामाङविरुद्ध निर्वाचन अधिकृत कार्यालयमा उजुरी परेको छ । भुलबहादुर राणा मगरले तामाङविरुद्ध उजुरी दर्ता गराएको तीनपाटन गाउँपालिकाका निर्वाचन अधिकृत पुष्पराज कट्वालले जानकारी दिनुभयो । तामाङको नाममा रहेको कन्स्ट्रक्सन कम्पनिले किर्ते भ्याट बिल बनाई कारोबार गरेको भन्दै उजुरी परेको हो ।
उजुरीमाथि आज र भोली छानविन हुने: आइतबार र सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका उजुरीमाथि निर्वाचन आयोगले छानबिन गर्न लागेको हो । बुधबार र बिहीबार छानबिन गर्ने आयोगको कार्यतालिका छ । छानबिन सकेपछि बिहीबार उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ । आयोगको पछिल्लो विवरण अनुसार स्थानीय तह निर्वाचनका लागि तिनपाटन गाउाँपालिकामा १३६ जनाको उम्मेदवार दर्ता भएको छ । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा कुल ३५ हजार २२१ पदका लागि मतदान हुनेछ ।