बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा गठबन्धनका उम्मेदवारमा पुरुष बढी

बुधवार , बैशाख १४, २०७९

सिन्धुली – सिन्धुलीमा गठबन्धनका उम्मेदवारमा पुरुष बढी देखिएका छन् । सक्षम भएर पनि महिलाहरू स्थानीय तहको मुख्य पदमा आउनबाट रोकिएका छन् । गठबन्धनका नाममा उनीहरू उम्मेदवारी दिनबाटै वञ्चित हुनु परेको हो । सत्ता गठबन्धन दलबाट यहाँ एकजना मात्र महिला स्थानीय तहको प्रमुखमा उम्मेदवार हुनुहुन्छ ।

सुनकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादीको तर्फबाट दिपा दाहाल चुनावी मैदानमा हुनुहुन्छ । सो गठबन्धनबाट बाँकी आठ स्थानीय तहका प्रमुख÷उपप्रमुखमा पुरुष उम्मेदवार छन् । राजनीतिमा महिला सहभागिता बढाउन संवैधानिक रुपमै स्थानीय तहको प्रमुख या उपप्रमुखमा महिला हुनुपर्ने व्यवस्था भए पनि गठबन्धनका कारण महिलाको प्रतिनिधित्व खुम्चने भएको हो । जसले गर्दा कतिपय दलका महिला नेत्रीहरूमा असन्तुष्टि बढेको छ । पार्टीले टिकट नदिएपछि नेकपा माओवादी बागमती प्रदेश कमिटि सदस्य साथै माओवादीबाट निर्वाचित निर्वतमान उपाध्यक्ष संगिता माझि सोमबार नेकपा (एमाले)बाट पुन उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।

उम्मेदवारी दर्तापछि उहाँले महिलाहरूले सक्दैनन् भनेर माओवादीले पाखा लगाएपछि आफूले एमाले रोजेको प्रस्टीकरण दिनुभएको थियो । जिल्लाको दुइ नगरपालकिामा पनि पनि पाँचदलीय गठबन्धनबाट प्रमुख÷उपप्रमुख दुवैमा पुरुष उम्मेदवार छन् । कमलामाई नगरपालिकामा नेपाली काँग्रेसबाट उपेन्द्र पोखरेल प्रमुख र नेकपा (माओवादी केन्द्र)बाट दिर्घराज श्रेष्ठले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । उपप्रमुखमा दर्ता गराउनुभएका श्रेष्ठको भने उमेदवारी हुन सकेको छ्रैन । दुधौली नगरपालिकामा मेयर पदमा नेकपा माओवादी केन्द्रका दिनेश अधिकारी दनुवार र उपमेयरमा नेपाली काँग्रेसका चन्द्रकिसोर थारुले उमेद्वारी दर्ता गराउनु भएको छ ।

घ्याङलेख गाँउपालिकामा सत्तारढ गठबन्धनबाट अध्यक्ष पदमा नेपाली काँग्रेसका जगतबहादुर भोलन र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट शंकरमान घलानले उमेद्वारी दर्ता गर्नु भएको छ । हरिहरपुरगढी गाँउपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट बज्रध्वज वाईवा र उपाध्यक्षमा नेपाली काँग्रेसबाट बमबहादुर स्वाङबाले उमेद्वारी दर्ता गर्नु भएको छ ।

यसरी सत्ता गठबन्धन दलका तर्फबाट नौँ स्थानीय तहका १८ प्रमुख÷उपप्रमुख पदमा १६ जना त पुरुष उम्मेदवार मात्र चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । त्यस गठबन्धनबाट स्थानीय तहको प्रमुखमा एक्ली महिला उम्मेदवारका रूपमा रहनुभएकी दाहाललाई भने नेकपा माओवादीले पुनः टिकट दिएर उम्मेदवार बनाएको हो । उहाँ विसं २०७४ को चुनावमा नेकपा माओवादीबाट निर्वाचित हुनुहुन्छ । यता पाँचदलीय गठबन्धनको सामना गरिरहेको नेकपा (एमाले)ले भने नौ स्थानीय तहको उपप्रमुखमा महिला उम्मेदवारलाई उठाएको जनाएको छ ।

एमालेबाट जिल्लाको दुइ नगरपालिकामा पहिलेका उपप्रमुख महिलालाई दोहोर्‍यााइएको छ । कमलामाई नगरपालिकामा प्रमुखमा महेन्द्र देव श्रेष्ठ र उपप्रमुखमा मन्जु देवकोटाले उमेदवारी दर्ता गराउनुभएको छ । दुधौली नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदमा लक्ष्मण कार्की र उपमेयरमा बालकुमारी अधिकारी दनुवारले उमेद्वारी दर्ता गराउनु भएको छ । सुनकोशी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट रोमनराज गिरी र उपाध्यक्षमा हेमा अधिकारीले उमेद्वारी दर्ता गर्नु भएको छ ।

नेकपा एमालेलेबाट सिन्धुलीको नौँ स्थानिय तहमा १० जना महिला प्रमुख/उपप्रमुखमा चुनावी मैदानमा उत्रिएका छन् भने ८ जना पुरुष प्रमुख मैदानमा देख्निछ ।

प्रतिक्रिया