बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुली गठबन्धन दल लाई बागिको झट्का

सोमवार , बैशाख १२, २०७९

सिन्धुली,– आसन्न स्थानीय तह निर्बाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने पहिलो दिन सिन्धुली जिल्लामा आईतबार विभिन्न पालिकामा विभिन्न पदको दाबी गर्दै स्वतन्त्र सहित ६८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

दुधौली नगरपालिकाको मेयरमा र सुनकोशी गाँउपालिका अध्यक्षमा नेपाली काँग्रेसका बागी उम्मेदवार उठेका छन् । दुधौली नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारको रुपमा सिन्धुलीका पूर्व जिल्ला शिक्षा अधिकारी केदारप्रसाद गिरी र सुनकोशी गाँउपालिका नेपाली काँग्रेसका वडा नं. ७ का सभापति उत्तरकुमार लामाले अध्यक्षमा स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गर्नु भएको छ । सत्तारुढ गठबन्धन र नेकपा एमालेले उम्मेदवार चयनमा अलमल भएको भन्दै सोमबार मात्रै निर्बाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने जनाएका छन् ।

नाँै वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा पालिका अध्यक्ष तथा मेयरमा १३ जना, उपाध्यक्षमा तीन जना र अन्य पदमा ५२ जनाको उम्मेदवारी दर्ता भएको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मरिण गाँउपालिकामा अध्यक्षको दाबी गर्दै नेकपा (एमाले)बाट गोबिन्दलाल माझीले उम्मेदवारी दर्ता गर्नु भएको छ । त्यस्तै, मंगोल नेश्नल अर्गनाईजेसनबाट छलिमाया पाख्रिन र उपाध्यक्षमा धनजरीमाया बल र स्वतन्त्र रुपमा राजन थापाले उम्मेदवारी दर्ता गर्नु भएको छ । मरिण गाँउपालिकामा अन्य पदमा समेत गरेर छ जनाको उम्मेदवारी दर्ता भएको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हरिहरपुरगढी गाँउपालिकामा अध्यक्षको दाबी गर्दै नेकपा (एमाले)बाट मानबहादुर वाईवा र उपाध्यक्षमा निर्मला ठाडामगरले उम्मेदवारी दर्ता गर्नु भएको छ । गाँउपालिका अध्यक्ष पदको दाबी गर्दै मंगोल नेश्नल अर्गनाईजेशनबाट तुलसी राई, जनता समाजबादी नेपालबाट पञ्चमान बम्जनले उम्मेदवारी दर्ता गर्नु भएको छ । हरिहरपुरगढी गाँउपालिकामा अन्य पदमा समेत गरी ४० जनाको उम्मेदवारी दर्ता भएको निर्बाचन अकिृत भरतकुमार दाहालले जानकारी दिनुभयो ।

दुधौली नगरपालिकाको मेयरको दाबी गर्दै स्वतन्त्र उम्मेदवारको रुपमा केदारप्रसाद गिरी र भक्तिबिलास दाहालले उम्मेदवारी दर्ता गर्नु भएको छ । दुधौलीमा दुई जनाको उम्मेदवारी दर्ता भएको निर्बाचन अधिकृत दिपक ढकालले जानकारी दिनुभयो ।

तीनपाटन गाँउपालिकाको अध्यक्षको दाबी गर्दै नेकपा माक्र्सवादी (पुष्पलाल)बाट पुरुषोत्तम अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । अर्का एक जनाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको छ ।

गोलन्जोर गाँउपालिकामा अध्यक्ष पदको दाबी गर्दै नेकपा (समाजबादी)बाट हरिबाबु नेपालीले उम्मेदवारी दर्ता गर्नु भएको छ । सुनकोशी गाँउपालिकामा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उत्तरकुमार लामा, उन्नत लोकतन्त्र पार्टीबाट बालकुमार बुर्जा, नेपाली काँग्रेस बीपीबाट माधबप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गर्नु भएको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । सुनकोशी गाँउपालिकामा अन्य पदमा समेत गरी आठ जनाको उम्मेदवारी दर्ता भएको छ ।

फिक्कल गाँउपालिकामा अध्यक्ष पदमा मंगोल नेश्नल अर्गनाईजेशन पार्टीबाट बुद्धबहादुर सुनुवारको उम्मेदवारी दर्ता भएको छ । फिक्कलमा अन्य पदमा समेत छ जनाको उम्मेदवारी दर्ता भएको छ । कमलमाई नगरपालिकामा वडा नं. ८ मा स्वतन्त्र वडा अध्यक्ष एक जना र घ्याङलेख गाँउपालिकामा वडा अध्यक्ष र सदस्य समेत गरी दुई जनाको उम्मेदवारी दर्ता भएको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया