सिन्धुली– २०६५ मा नेकपा माओवादीले गणतन्त्र नेपालको पहिलो पटक सत्ता सम्हाल्दा समानुपातिक सभासदको प्रस्ताव अस्विकार गर्नुभएका वर्द बहादुर राई ‘शशि’ सिन्धुलीको हरिहरपुरगढी गाउँपलिकाको अध्यक्षको उम्मेदवारमा चयन हुनुभएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीका इन्चार्ज शशिलाई अध्यक्षको उम्मेदवारमा सर्वसम्मत चयन गरिएको हो ।
१० वर्षे जनयुद्धमा सक्रिय भएर लाग्नुभएका शशिलाई आगामी वैशाख ३० गने हुने स्थानिय तहको चुनावमा नेकपाले अध्यक्षको उम्मेदवारमा खडा गरेको छ । सिन्धुलीको मरिण, हरिहरपुरगढी र दुधौलीमा नेकपाको बलियो पकड रहेको छ । ठेकेदार, भुमाफिया, क्रसर व्यवसायी र स्वार्थी नेताले पालिकाको नेतृत्व सम्हाल्न कसरत गरिरहेको हुँदा स्वार्थरहित, जनपक्षिय, विकासप्रेमि, जनप्रेमि, लोकप्रिय र क्रान्तिकारी नेता शशिलाई अध्यक्षको टिकट दिएको नेकपाले जनाएको छ । अध्यक्षको उम्मेदवारमा चयन भएपछि शशिले भ्रष्टाचारका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचारमा लिप्त स्थानिय सरकारलाई सफा र स्वच्छ बनाउन मेरो उम्मेदवारी हो ।’
विद्यार्थी कालदेखिनै राजनितिमा हामिनुभएका शशि जनयुद्ध र नेकपा प्रतिबन्धित भएपछि पटकपटक जेल पर्नुभएको थियो । तत्कालिन केपी ओलीको सरकारले नेकपालाई प्रतिबन्धित लगाउँदा शशिले सिन्धुली, मकवानपुर, सिरहा, सप्तरि र बाराको इन्चार्जको जिम्मेवारी बहन गर्नुभएको थियो ।
यसअघि नेकपाले मरिण गाउँपालिकाको अध्यक्षको स्वतन्त्र उम्मेदवारमा दिनेश सारुलाई चयन गरिसकेको छ भने दुधौली सहित अन्य पालिकाको अध्यक्षको उम्मेदवार सोमबार(आज) निश्चित गर्ने जनाएको छ ।