बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा मतदानका लागि मतदाता उत्साहित

शनिवार , बैशाख १०, २०७९

सिन्धुली – यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मतदान गर्न यहाँका मतदाता उत्साहित भएका छन् । जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै चुनावको चहलपहल बढेको छ ।

सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर तत्सम्बन्धी गतिविधि बढेपछि जिल्लामा चुनावी माहोल ह्वात्तै बढेको छ । उम्मेदवारको मनोनयनपत्र दाखिला गराउने समय अब एक दिनमात्र बाँकी छँदा राजनीतिक दलभित्र उम्मेद्वार टुं्ग्याउने दबाब बढेको छ । “हामी आन्तरिक छलफलमै छौँ,” नेकपा (एमाले)का जिल्ला अध्यक्ष कुमारबहादुर कार्की(रामकुमार)ले भन्नु भयो, “अब हामीमाथि उम्मेदवारका नाम पठाउन दबाब बढ्यो ।” उम्मेदवारका नाम शनिबार मध्याह्नभित्र टुंग्याइसक्ने कार्कीको भनाइ छ । एमालेले वडासम्मका उम्मेदवारको टुंगो जिल्ला तहबाटै र पालिकाका प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षका नाम प्रदेश कमिटीबाट टुंग्याउने कार्यविधि बनाएको छ ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र सत्ता गठबन्धनका घटक भएका हुँदा संयुक्त प्यानल बनाउनुपर्ने भएकाले उम्मेदवारको नाम घोषणा गर्न ढिलाइ भएको हो । सत्ता गठबन्धनकोे बिहिवार सहमति भएसंगै गठबन्धनदल उम्मेदवार छान्न गृहकार्यमा ब्यस्त छन् । काँग्रेस जिल्ला सभापति उप्रेन्द्र पोखरेलले भन्नु भयो, “शनिबारसम्म उम्वेदवारको निक्र्यौल गर्ने गरी अघि बढेका छौँ ।” अन्य दलले पनि धमाधम उम्मेदवार छनोटलाई अन्तिम रूप दिँदैछन् ।मओवादी केन्द्रले आफ्नो भगमा परेको अध्यक्ष र उपाध्यक्षको उम्वेदवार टुंगो लगाएको छ भने वडा अध्यक्ष र सदस्यको उम्मेदवार छनोट प्रक्रियामा रहेको जनाएको छ ।

निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारले मनोनयनपत्र दाखिला गर्नुपर्ने तालिका बनाएको छ । यसअनुरुप सबै दलले शनिबार साँझसम्म उम्मेदवारको टुं्गो लगाइसक्नुपर्ने छ । निर्वाचन आयोगको तयारी बढेसँगै दलहरूका गतिविधि पनि सघन हुँदै गएपछि अब जताततै माहोल निर्वाचनमय बनेको छ ।

यसअघि निर्धारित समयमा निर्वाचन हुने नहुने भन्ने विभिन्न थरिका अड्कलबाजी गरिएका थिए । मतदाता आफ्नै ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर काम अघि बढेपछि अब भने विश्वस्त भएका छन् । “अब चुनाव हुनेमा ढुक्क छौँ”, बिहीबार कमलामाई नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर सूचनापाटीमा निर्वाचन कार्यक्रमबारे तालिकाको सूचना टाँस पढ्दै कमलामाई –५ मधुटारकका मोहोन प्रसाद घिमिरेले भन्नुभयो ।

निर्वाचन अधिकृतको कार्यालय स्थापनाले मतदातामा चुनावबारेको संशय मेटिएको छ । जिल्लाका सात गाउँपालिका र २ नगरपालिकामा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापनाका साथै निर्वाचन कार्यक्रमबारे तालिका सूचनापाटीमा टाँस गरिएका छन् । सबै स्थानीय तहका मतदानस्थल, मतदानकेन्द्र र सहभागी हुने मतदाता संख्याको मतदान कुशलतापूर्वक हुन सकोस् भन्ने ध्येयले सोबारे सम्बद्ध पक्षसँग छलफल, अन्तक्रिया थालिएको जिल्लाको मुख्य निर्बाचन अधिकृतको कार्यालय तथा कमलामाई नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख ध्रुबप्रसाद सापकोटाले बताउनुुभयो ।

प्रतिक्रिया