सिन्धुली – आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले मरिण गाउँपालिका अध्यक्षको उम्मेदवार सर्वसम्मत छनौट गरेको छ । नेकपा एमाले मरिण गाउँकमिटीको आइतबार बसेको चौथो पूर्ण बैठकले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरुको उम्मेदवार सर्वसम्मत छनौट गरेको हो ।
नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख संजय दाहालका अनुसार एमालेले मरिण गाउँपालिकाको अध्यक्ष पदका लागि गोविन्दलाल माझीलाई सर्वसम्मत उम्मेदवार छनौट गरेको हो । “बैठकले पालिका अध्यक्ष र पाँचवटा वडा अध्यक्षको उम्मेदवार सर्वसम्मत छनौट गरेको छ । गाउँपालिका उपाध्यक्ष र दुईवटा वडा अध्यक्षहरु पनि सर्वसम्म छनौट हुनेछन,” दाहाल जानकारी दिनु भयो ।
बैठकले मरिण गाउँपालिका वडा नम्बर २ मा कृष्ण ठाडा, वडा नम्बर ४ मा जीतबहादुर काल्ताङ, वडा नम्बर ५ मा अभिमान बम्जन, वडा नम्बर ६ मा शम्भु कार्की र वडा नम्बर ७ मा शिवजी माझीलाई सर्वसम्मत वडा अध्यक्षको उमेदवार चयन गरेको छ ।
माझी नेकपा एमाले बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान परिषद्को पूर्व सदस्य सचीवसमेत हुनु हुन्छ । नेकपा एमालेका केन्द्रीय सदस्यद्धय गणेश कुमार पहाडी र कमलजंग राईको उपस्थितिमा बसेको बैठकले निर्वाचनका उम्मेदवारहरु सर्वसम्मत छनौट गरेको हो ।
मरिण गाउँपालिका २०७४ सालमा नेकपा माओवादी केन्द्रले एकलौटी जितेको पालिका हो । एमाले सिन्धुलीले यसअघि सिन्धुलीले गोलन्जोर गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा शंकर बराललाई सर्वसहमत चयन गरेको छ ।