सिन्धुलीकोे कमलामाई नगरपालिका ९ भिमानबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । शुक्रबार बर्दिबासबाट काठमाडौँतर्फ आउदैँ गरेको बा ४ ख ५६३७ नम्बरको हायस गाडि चेकजाँच गर्नेक्रममा बर्दिबास नगरपालिका ३ गौरीडाँडाका २३ वर्षिया राजन मण्डलको साथबाट लागुऔषध फेला परेको हो । मण्डलले ब्याग र हाफपाईन्टको गोजिमा ल्याएको १४६ वटा नाइट्राभेट १० ट्याब्लेट, २० वटा स्पास्मो प्रोक्सिभोन, कोकको बोतलमा २५० एमएल कोरेक्स जस्तो देखिने लागुऔषध लुकाई छिपाइ ल्याएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । उनलाई सिन्धुली अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको लामाले बताउनुभयो ।
समातिदै कारोबारि र प्रयोगकर्ता: सिन्धुली प्रहरीले गत फाल्गुन १ गते कमलामाई नगरपालिका ४ खहरेखालबाट ६८. ८४२ केजि अवैद्य लागुऔषध गाँजा सहित कालु ब्लोन, कृष्ण बहादुर ब्लोन र बहादुर गोले पक्राउ गरेको थियो । त्यस्तै, गत माघ १९ गते गोलन्जोर गाउँपालिका ७ खुर्कोटबाट युट्युबर चेतन कार्की लागुऔषधसहित पक्राउ परेका थिए । उनको साथबाट ४.१३० ग्राम खैरो हिरोईन र ६.९४० ग्राम गाँजा फेला परेको थियो । चैत्र १९ गते कमलामाई नगरपालिका ९ भिमानबाट तीन वटा पोकामा लुकाई छिपाई ल्याएको नुर्फिन, फेनेर्गान र डाइजपाम सहित २६ वर्षिया जितेन्द्र कुमार दासलाई सिन्धुली प्रहरीले पक्राउ गरेको थियो । सीमावर्ती भारतीय बजारसँग नजिकको दुरी भएकाले सिन्धुलीमा लागुऔषध भित्रिने गरेको छ । सिन्धुली प्रहरीले लागुऔषध कारोबारी र प्रयोगकर्ताहरूमाथि कडा निगरानी गर्न थालेपछि धमाधम कारोबारी पक्राउ पर्न थालेका डिएसपी लामाले बताउनुभयो ।