बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा नेता तथा कार्यकता उम्मेदवार विनै गाउँगाउँ पुगे

सोमवार , चैत्र १४, २०७८

सिन्धुली­ स्थानिय तहको निर्वाचन नकिएसँगै नेता तथा कार्यकता गाउँगाउँ पुग्न थालेका छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा सहरमा मात्रै होइन गाउँ गाउँसम्मै राजनीतिक माहोल तात्न थालेको छ ।

राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो नलगाए पनि गाउँ, टोल कमिटी निर्माणमा सबै दल सक्रिय भएका छन् । राजनीतिक दलका नेता कार्यकर्ता गाउँ केन्द्रित हुँदा मतदाता भने उम्मेदवारको पर्खाइमा छन् । पार्टीभन्दा पनि कुन दलले कस्तो उम्मेदवार अघि सार्छ भन्नेले महत्व राख्ने गोलन्जोर गाउँपालिका २ का स्थानीय शसि देवकोटा बताउनुहुन्छ । “सिद्धान्त भन्दा पनि क्षमतावान र नयाँ सोचका उम्मेदवारलाई भोट दिनुपर्छ भन्ने हाम्रो धारणा छ,” देवकोटाले भन्नुभयो, “अहिले दलहरूले उम्मेदवारको टुंगो लगाएका छैनन्, उम्मेदवार छनौटपछि कसलाई भोट दिने भन्ने बारेमा सोच्नु पर्ला ।” सिद्धान्तका आधारमा पार्टीलाई भोट दिँदा विकासले गति नलिएको उहाँको भनाइ छ ।

कमलामाई नगरपालिका ४ का विजय सार्की पनि “हाम्रालाई नभई राम्रालाई भोट दिने” बताउनुहुन्छ । “यहाँका मतदातामा चेतनास्तर बढेको छ,” उहाँले भन्नुभयो, “अब हाम्रालाई नभई राम्रालाई भोट दिनुपर्छ भन्ने बहस चलिरहेको छ, यस पटक सिद्धान्त भन्दा योग्य व्यक्ति छानिने छन् ।” पाँच वर्ष सम्म स्थानिय तहमा सोचे जस्तो विकास हुन नसकेको उहाँको भनाइ छ । “यो पाँच वर्षमा सिन्धुलीमा सम्झनलायक केही कामनै भएन ।,” उहाँले भन्नुभयो, “संघीय सरकारले सञ्चालन गरेका योजना मात्रै बनेका देखिन्छन् ।”

कमलामाई नगरपालिका ४ कै डम्बर नेपाली भने मतदातामा अझै पनि चेतना स्तर नबढेको बताउनुहुन्छ । “चुनाव सकिएपछि राम्रो नेता छान्नुपर्छ भन्ने बहस चल्छ,” उहाँले भन्नुभयो,“‘तर, चुनावमा फेरी क्षेत्रियता र नातावाद हावी हुने गर्छ, यस पटक पनि त्यस्तै नहोला भन्न सकिँदैन ।” मतदाताले स्वविवेक प्रयोग गरेर सिन्धुलीलाई साच्चै राम्रो बनाउने तर्फ लाग्नु पर्नेमा उहाँको जोड छ ।

कमलामाई नगरपालिका बडा नं. ५ मधुटारका मोहोन प्रसाद घिमिरेले अब दलका नेता नभई राम्रा नेतालाई भोट दिने बताउनुभयो । “अहिलेसम्म दलहरूले उम्मेदवार छनौट गरेका छैनन्,” उहाँले भन्नुभयो, “उम्मेदवारी सकिएपछि योग्य नेता छानेर भोट दिने योजना छ ।” गाउँगाउँमा अहिले राम्रा नेता छान्नु पर्ने आवाज उठेको उहाँ बताउनुहुन्छ । कमलामाई नगरपालिका घरभएका उहाँले आफ्नो पालिकामा राम्रो विकास नभएको बताउनुभयो ।

“चुनाव जित्दा गरिएका बाचा जनप्रतिनीधिले बिर्सेका छन्,” उहाँले भन्नुभयो, “घोषणाअनुसार काम नभए पनि केही विकास भने भएको छ, तर सोचेअनुसार काम भएन ।” पाँच बर्षमा जनप्रतिनीधिहरु आफै स्थापित भएको उहाँको भनाइ छ । “चुनावअघि आर्थिक अवस्था कम्जोर भएका जनप्रतिनीध अहिले आर्थिक रुपमा बलियो देखिएका छन्,” घिमिरेले भन्नुभयो,“‘तर उनीहरूको आयश्रोतको माध्याम भने केही देखिँदैन ।”

प्रतिक्रिया