बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा २० दल दर्ता

बिहिवार , चैत्र १०, २०७८

सिन्धुली­ - आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २० दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् ।

कार्यालयका प्रमुख पुष्पा कुमारी झाका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिन्ह लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो । आयोगले तोकेको समयमा जिल्लामा रहेका २० दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् ।

झाका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवण बुझाउनु नपर्ने भएकाले २० दलले चिन्हका लागि विवरण बुझाएका हुन् ।उनीहरूको विवरण निर्वाचन आयोगमा पठाइएको उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्र थप गर्न आयोगलाई आग्रह गरेको छ । विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा जिल्लामा १ सय ३७ मतदानस्थल र २ सय ५४ मतदान केन्द्र थिए । अहिले मतदान केन्द्र थप गरी २ सय ६९ पु¥याउन लागिएको झाले बताउनुभयो । कमलामाई नगरपालिका ३७, गोलन्जोर गाउँपालिकामा १२, घ्याङ्लेख गाउँपालिकामा ९, तिनपाटन गाउँपालिका १९, दुधौली नगरपालिकामा २४, फिक्कल गाउँपालिकामा १३, मरिण गाउँपालिकामा ९, सुनकोशी गाउँपालिकामा १२ र हरिहरपूरगढी गाउँपलिकामा ९ गरि जम्मा १ सय ३७ मतदानस्थल रहेका छन् । हाल थप गरेर १ सय ४४ मतदानस्थल रहेका छन् ।

जिल्लामा दुई लाख ९ हजार मतदाता छन् । अझै केही थपघट हुनसक्ने झाले बताउनुभयो । निर्वाचनको तयारीस्वरुप कार्यालयले बैशाख ८ गते जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ । सदरमुकाममा प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहने छ भने अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने छ । निर्वाचनका लागि कार्यालयले कर्मचारी माग गर्न थालेको छ । एउटा मतदान केन्द्रमा पाचँ जना कर्मचारी र तिन जना स्वयमसेवक परिचालन गरिने छ ।

प्रतिक्रिया