सिन्धुली नेपाली काँग्रेस सिन्धुलीले जिल्लाका सबै वडामा निर्वाचन लक्षित कार्यक्रम गर्न नेता तथा कार्यकर्तालाई प्रतिनिधिका रुपमा खटाएको छ । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन निर्वाचन केन्द्रित ‘घर घर जाऔ काँग्रेस जिताऔँ ’अभियान अन्र्तगत पार्टीले जिल्लाका सबै वडामा प्रतिनिधि खटाएको नेपाली काँग्रेसका जिल्ला सचिव ईश्वर बस्नेतले जानकारी दिनुभयो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिले जिल्लाका ७९ ओटै वडामा संयोजक सहित पाँच जनालाई प्रतिनिधिको रुपमा खटाएको छ । यसरी जिल्लाबाट वडामा खटिनेमा पार्टीका पुर्व पदाधिकारी सहितलाई वडामा काँग्रेस जिताऔ अभियानमा सहजिकरण गर्न प्रतिनिधिको रुपमा खटाएको काँग्रेस सिन्धुलीले जनाएको छ । जिल्लाले खटाएका प्रतिनिधिहरुले सम्बन्धित वडामा गएर वडा समिति टोल समिति भातृ एवम् शुभेच्छुक संस्थालाई गतिशिल बनाउदै ‘घर घर जाँऔ काँग्रेस जिताआँै’ अभियान सफल बनाउन भुमिका निर्वाह गर्नुपर्ने सचिव बस्नेतले बताउनुभयो । उहाँका अनुसार गाँउगाँउमा गएर विपक्षि जनप्रतिनिधि तथा सरकारले गरेका भ्रष्टाचार सहितका काण्डहरु जनताहरु समक्ष बुझाउनु पर्ने प्रतिनिधिहरुको मुल भुमिका रहनेछ ।

प्रतिनिधि बनेर गाँउ जान जिल्ला तहका नेता तथा कार्यकर्ताहरु समेत उत्साहित देखिएका छन् । निर्वतमान पार्टी सचिव कृष्णप्रसाद दाहालले पार्टीले दिएको जिम्मेवारी अनुसार आफु सम्बन्धित वडामा जाने र काँग्रेस जिताउ अभियान सफल बनाउने बताउनुभयो । पार्टीले खटाएका सबै प्रतिनिधिहरु गाउँ जान उत्सुक भएका छन्, उहाँले भन्नुभयोे,“ काँग्रेसले निर्वाचन लक्षित कार्यक्रम गर्नका लागि सबै वडामा जान लागेको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मुक्ता यादवले गठबन्धनको कुरा भन्दा पहिले पार्टीको आन्तरिक मजबुतीकरण तर्फ ध्यान दिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । “घरघर जाऔँ नेपाली काँग्रेस जिताउ” अभियानका सिन्धुलीको संयोजक समेत रहनु भएका यादवले भन्नुभयो “गठबन्धन भनेको दोश्रो कुरा हो त्यो भन्दा पहिले पार्टीलाई एक्लै पनि जिताउने हैसियत बनाउनु पर्छ ।”यादवले विभिन्न तहका नेताहरुसंग आआफ्नो क्षेत्रको बर्तमान स्थितीको बारेमा जानकारी लिनुभएको थियो ।
नेपाली काँग्रेस सिन्धुलीका पार्टी सभापति उपेन्द्रकुमार पोखरेलले पार्टी गुटबन्दीमा नभएको र एकजुट भएर अगाडी बढ्ने बताउनुभयो । पार्टीको आन्तरिक निर्वाचनमा हारजित स्वभाविक भएको र हारजितका कारण पार्टीलाई कुनै असर नभएको उहाँले स्पस्ट पार्नुभयो । यो वा त्यो गुट कसैले छुट्याएको छ भने त्यो भ्रम हो, उहाँले भन्नुभयो, “पार्टीमा निर्वाचित हुने एउटा प्रक्रिया हो, तर सबैको उदेश्य काँग्रेसलाई अगाडी बढाउनेनै हो ।”

पोखरेलले बर्तमान अबस्थामा गठबन्धनको सरकार भएकोले साथै केन्द्रबाट पनि चुनाबी तालमेलको कुरा आइरहेकोले गाँउ गाउँमा अरुको आलोचना भन्दा पनि आफ्नो पार्टीको धारणा र आगामी योजना जनतालाई बुझाउनु पर्ने धारणा राख्नु भएको थियो। जनतालाई भ्रम छर्नु हुदैन र नेपाली काँग्रेसको बारेमा कसैले भ्रम र आरोप लगाएको भए जनतालाई प्रष्ट पार्नु पर्छ । यसपालीको चुनाबमा नेपाली काँग्रेसको जित सुनिश्चित भएकोले सबै कार्यकर्ताहरुलाई निर्ढुक्क भै उत्साहका साथ अभियानमा लाग्न उहाँले आग्रह गर्नुभयो ।
पार्टी सभापति पोखरेलले पार्टीले खटाएको वडामा गएर कुशलतापुर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन समते दिनुभयो । “सबै साथीहरु खटाएको सम्बन्धित वडामा गएर आाफ्नो जिम्मेवारी पुरा गर्नुहुनेछ, हामी त्यसको अनुगमन पनि गर्नेर्छौ”, उहाँले भन्नुभयो ।
जिल्लामा अभियानको चैत्र ११ गते बिहान ११ बजे जिल्लाको ७९ वटै वडामा एकै पटक उदघाटन गरिने कार्यक्रम तय गरिएको नेपाली कांग्रेस सिन्धुलीले जनाएको छ ।