सिन्धुली – आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै दलीय गतिविधि टोलटोलसम्म पु¥याइएको छ । क्षेत्र, प्रदेश, जिल्ला, पालिका, वडाहुँदै टोलसम्म राजनीतिक दलका समिति बन्ने काम धमाधम भइरहेका छन् ।
जिल्लाका प्रमुख दलहरुले टोलमा भेला गरेर समिति बनाउने र निर्वाचन केन्द्रित अभियान सुरु गरेका छन् । नेकपा (एमाले) सिन्धुलीले टोलटोलमा भेला तथा संगठनलाई विस्तार गरिरहेको छ । गत २५ दिन अगाडिबाट टोल तथा वडा भेला गर्न सुरु गरिएको हो । जिल्ला सचिव नाराण बरालका अनुसार टोल समितिमात्र झण्डै २०० भन्दा बढी गठन भइसकेका छन् । वडा तहमा बन्न बाँकी जनसंगठनका समिति बन्ने काम पनि भइरहेका छन् । जिल्लामा एमालेका नविकरण भएका २१ हजार भन्दा बढि संगठित सदस्य रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी गाउँ तहमा केन्द्रित भएर अभियान गरिरहेका छौं ।”
नेपाली काँग्रेसको नवनिर्वाचित समितिले पनि अभियान सुरु गरेको छ । नेपाली काँग्रेसको एक महिने ‘घर घर जाऔँ काँग्रेस जिताऔँ । अभियानको शनिवार सिन्धुलीमा पनि उदघाटन भएको छ । सिन्धुलीका लागि प्रतिनिधि मुक्ता कुमारी यादवले शनिवार एक कार्यक्रम बिच उक्त अभियानको औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्नु भएको हो । कार्यक्रम फागुन २९ गते नै सुरुहुनुपर्ने भएता पनि यादव विविध व्यस्तताका कारण सिन्धुली आउन ढिँलाइ हुँदा केही दिन पछि प्रारम्भ भएको हो । जिल्लामा रहेका दुईवटै संघीय निर्वाचन क्षेत्रको ७९ वटा वडाका सबै टोल समितिसम्म औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो । स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको नेपाली काँग्रेस सिन्धुलीका सभापति उपेन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनसँगै समाजमा एमसिसीबारेको भ्रम चिर्नका लागि अभियान सुरु गरिएको हो ।”
अभियानमा प्रत्येक निर्वाचन क्षेत्रमा जिल्ला कार्यसमितिका दुई प्रतिनिधिसहित काँग्रेस नेता तथा कार्यकर्ता परिचालन गरिने पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक टोल, वडा तहमा ती नेता एवं कार्यकर्ता पुगेर सर्वसाधारणलाई एमसिसीका विषयमा भएको भ्रम चिर्ने र काँग्रेसका उम्मेदवारलाई मतदान गर्न प्रेरित गर्ने छन् । अभियान चैत २९ गतेसम्म सञ्चालन गरिने छ । अभियानका क्रममा क्षेत्र, प्रदेश र वडास्तरमा जागरणका कार्यक्रम सञ्चालन गरिने र टोलटोलमा नेपाली काँग्रेसको टोल कार्यसमिति गठन गरी पार्टी संगठनलाई जनस्तरसम्म पु¥याइने छ ।
नेकपा (माओवादी केन्द्र)ले चुनाव केन्द्रित अभियान थालेको छ । टोल तहसम्म एकाध ठाउँबाहेक अन्यत्र समिति बनाउने काम भएको जिल्ला इन्चार्ज लेखनाथ दाहाल(राजन) ले बताउनुभयो । जनवर्गीय संगठनको तल्लो तहमा समिति बनाउने काम भइरहेको उहाँको भनाई छ । जिल्लामा माओवादी केन्द्रका १७ हजार संगठीत सदस्य रहेको उहाँको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ ।
गएको स्थानीय निर्वाचनमा जिल्लाका ७९ वडामध्ये (नेकपा एमाले)ले ३२ वडाध्यक्ष जितेको थियो । नेपाली काँग्रेसले २६ र माओवादी केन्द्रले २० वडाध्यक्ष जितेको थियो भने एक स्वतन्त्रमा जितेका थिए । कमलामाई नगरपालिका, दुधौली नगरपालिका र फिक्कल गाउँपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको थियो । मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख र उपप्रमुख जितेको थियो । तिनपाटन गाउँपालिकामा काँग्रेसले प्रमुख र नेकपा एमालेले उपप्रमुख विजयी हासिल गरेको थियो । घ्याङ्लेख गाउँपालिका र गोलन्जोर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा दुवै नेपाली काँग्रेसले जितेको थियो । जिल्लामा तत्कालीन समयमा १४ हजार ७ सय २५ मतदाता रहेका थिए ।