सिन्धुली¬ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा देश बन्धक रहेको बताउनु भएको छ । सिन्धुलीमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुदै अध्यक्ष लिङ्देनले सीमित नेताको मुट्ठीमा राज्यसत्ता सञ्चालन रहेको बताउनुभयो ।
“हामीलाई कहाँ लैजाने भनेर हिँडाएका थिए ? कहाँ पुर्याए ? के यही दिन देख्नका लागि हिन्दू संस्था अन्त्यको स्वीकार गरेका थियौ । समीक्षा गर्ने बेला भयो,” उहाँले भन्नुभयो । उहाँले माओवादी, एमाले र काँग्रेस अलग पार्टी नभई एक सिक्का दुई पाटा भएको बताउनुभयो । ललिता निवास प्रकरण,वाइडबडी प्रकरणमा यी सबै जोडिएका उहाँको दाबी थियो ।
“कुनै पनि पार्टी, नेताले १०\१० वर्ष मौका पाउँदा पनि देशले मुहार फेर्न नपाएकाले हामी जनताको अदालतमा भन्न आएका हौँ”, उहाँले भन्नुभयो । जनतालाई बुझाउन सके राप्रपाले देश बनाउने भन्दै एकपटक राप्रपालाई सहयोग गर्न उहाँले अपिल गर्नुभयो । “देशको उत्पादनले नधानेसम्म मुलकमा समृद्धि हासिल गर्न सकिन्न, देशमा उत्पादन भएको बिजुली देशमै खपत गरौँ, विद्युत् उत्पादनमूलक कार्यमा खपत गरे मुलुक आर्थिकरूपमा समृद्ध बन्छ”, उहाँको भनाइ थियो ।
लिङ्देनले राजाको डर देखाएर जनतालाई मूर्ख नबनाउन काँग्रेस, एमाले र माओवादीलाई चेतावनी दिनु भयो । अध्यक्ष लिङ्देनले गणतन्त्रका नाममा ठूला दलले लुटतन्त्र मच्चाएको आरोप लगाउनु भयो । ठूला भनिएका दलले प्रजातन्त्र आएको ३० वर्षमा देखाउनलायक कुनै पनि काम नगरेको अध्यक्ष लिङ्देनको भनाइ थियो ।
“वीरेन्द्र पार्कलाई बीपी पार्क बनाएका छन्,” उहाँले भन्नुभयो, “राजमार्गलाई लोकमार्ग बनाएका छन् त्यत्ति हो । गणतन्त्र गएमा राजाको शासन आउँछ भनेर जनतालाई मूर्ख बनाइ भोट खाने काम गरेका छन् ।” साँढे गोरुबाट दूधको आशा गर्नु र काँग्रेस, एमाले, माओवादी केन्द्रबाट परिवर्तनको आशा गर्नु उस्तै रहेको अध्यक्ष लिङ्देनको भनाइ थियो । आउँदो स्थानीय तह निर्वाचनमा डर, त्रास र भयमुक्त भइ परिवर्तनको पक्षमा मतदान गर्न अध्यक्ष लिङ्देनको अपील थियो । चुनावमा भोट दिने भनेको छोरी दिनेभन्दा ठूलो भएकाले हजार बार सोच्न जनतालाई अध्यक्ष लिङ्देनले सुझाउनुभयो ।
गाँजा खेती र भारतको विहारमा लालु शासनको चर्चा गर्दै अध्यक्ष दिङ्देनले विकास भएर पुल बनेमा गाँजा खेतीमा प्रहरी प्रशासनको आँखा लाग्ने भन्दै जनतालाई झुक्याएको जस्तै अहिले भइरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा महामन्त्री भुवन पाठक, अभिनेत्री रेखा थापालगायतले निर्वाचनमा ठूला दललाई धूलो चटाइदिन आग्रह गरेका थिए ।